सर्लाही, १६ साउन । औषधि व्यवस्था विभागले सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरूमा चिकित्सकीय प्रमाणबिनै प्रचार गरिएका केही औषधिजन्य वस्तुहरू तुरुन्त बिक्री वितरण रोक्न निर्देशन दिएको छ ।

विभागले औषधिको नाम र तस्बिरसहितको अत्यन्त जरुरी सार्वजनिक सूचना जारी गर्दै ती उत्पादनहरू जनस्वास्थ्यका लागि जोखिमपूर्ण रहेको जनाएको छ । फेसबुक, टिकटक, युट्युब लगायत माध्यममा थाइराइड , प्रोस्टेट, सुगर, युरिक एसिड निर्को पार्ने, मोटोपन घटाउने, यौनशक्ति बढाउने, जाँड रक्सी छुटाउने र क्यान्सर जस्ता प्राण घातक रोग निको बनाउने भन्दै प्रचारप्रसार भइरहेको पाइएपछि विभागले विज्ञप्तिमार्फत यस्तो चेतावनी जारी गरेको हो ।

विभागले औषधि सेवन गर्नुअघि चिकित्सकको प्रेस्क्रिप्सन आवश्यक हुने उल्लेख गर्दै ती औषधिहरूमा वैज्ञानिक आधार र गुणस्तर परीक्षण नभएको जनाइएको छ । विभागका अनुसार यस्ता औषधिहरू सेवन गर्दा गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्छ । विभागका महानिर्देशक नारायण ढकालले जारी गरिएको सूचनामा भनिएको छ, ‘विज्ञापनमार्फत भ्रम फैलाउने, रोगको उपचारका रुपमा औषधिको ग्यारेन्टी दिने, बिना प्रमाण यौनशक्ति वृद्धिका दाबी गर्ने औषधि सेवनले नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुँदा तत्काल हटाउन जरुरी छ ।’ विभागले सबै उपभोक्तालाई यस्ता औषधि नखान आग्रह गरेको छ । विभागले जारी गरेका यी औषधि बरामद गरी कानुनी कारबाही प्रक्रियामा रहेको जनाएको छ । यस्ता किसिमका सामग्रीहरु उत्पादन, ओसारपसार र बिक्री वितरण कानुनविपरित भएकाले प्रचारप्रसार नगर्न र समाजिक सञ्जालबाट विज्ञापन हटाउन विभागले चेतावनी दिएको छ ।

विभागले निरीक्षणको क्रममा फेला पारेको नक्कली औषधि :

१. पौरुष हेल्थ जीवन

२. पौरुष जीवन

३. डिफ्यूजल –एल

४. कायाप्लस

५. १०० हर्स पावर

६. ३० मिनेट स्टप

७. डायबेटिक कन्ट्रोल

८. जिमनेमा सिलभेस्ट्रे क्याप्सुल

९. बूजी

Leave a Reply

Your email address will not be published. Required fields are marked *