सर्लाही, ३० असाेज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल बुधबार मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भए ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम बुधबार साँझ उनलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

पाँच दलका ५६ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका सोनलले बिहीबार प्रदेश प्रमुख भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएका छन् ।

उनलाई जसपाका १९, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८ र नेकपा एकीकृत समाजवादीका ७ सांसदको समर्थन छ ।

तर, शपथ लिएलगत्तै सोनल नेतृत्वमा गठन भएको मधेश प्रदेश सरकार नैतिक संकटमा परेको छ ।

सोनलले सरकारको लागि दाबी पेस गरेकै दिन जनमत पार्टीका दुईजना सांसदले नवगठित जनस्वराज पार्टीमा सनाखत गरेका थिए । निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन साह जनकपुरस्थित निर्वाचन कार्यालयमा पुगेर जनस्वराज पार्टीमा सनाखत गरेका हुन् ।

निर्वाचन आयोगले अहिले आधिकारिकता नदिए पनि दुई सांसद संख्या अहिले तटस्थ छ । निवर्तमान मुख्यमन्त्री सिंहले जनस्वराज पार्टी अहिले तटस्थ अवस्थामा रहेको र निर्वाचन कार्यालयबाट वैधता प्राप्त भएपछि मधेश प्रदेशसभामा दलको दाबी गर्ने बताए ।

जनस्वराजका केन्द्रीय अध्यक्ष इन्जिनियर दिपककुमार साहले पनि आफ्नो पार्टी अहिले तटस्थ अवस्थामा रहेको बताए । यसबारे दलभित्र छलफल गरेर समर्थन गर्ने वा नगर्ने विषयमा निर्णय गर्ने उनको भनाइ छ ।

‘हाम्रो दल अहिले तटस्थ अवस्थामा छ । छलफल गरेर मात्र के गर्ने निर्णय गर्छौं,’ उनले भने ।

यद्यपि, आज उनले सामाजिक सञ्जालमा एउटा समाचार लिंक सेयर गर्दै मधेशवादी दलको सरकारप्रति आफ्नो सहानभूति रहेको उल्लेख गरेका छन् । त्यसलाई कतिपयले नयाँ सरकारलाई जनस्वराज पार्टीको समर्थनको रूपमा बुझिरहेका छन् । तर अध्यक्ष साहले सहानुभूति प्रकट आफ्नो निजी विचार मात्र भएको स्पष्ट पारे ।

अर्को, मुख्यमन्त्री नियुक्त भएर सोनलले आज दिउँसो विश्वासको मत लिइरहेका बेला नै जसपा नेपालका सांसद सरोज सिंह कुशवाहामाथि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनी पक्राउ परिसकेका छन् ।

संसदीय विकास कोष रकममा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले उनीमाथि मुद्दा दायर गरेको हो । मुद्दा दायरसँगै सांसद कुशवाहाको सांसद पद स्वतः निलम्वित भएको छ । यस विषयमा अख्तियारले प्रदेशसभालाई औपचारिक जानकारी गराउन मात्र बाँकी छ ।

योसँगै सोनलले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेको संख्या ५६ बाट तीन सांसद घटेका छन् । १०७ सदस्यीय मधेश प्रदेशसभामा सरकारका लागि बहुमत पुग्न ५४ सांसद आवश्यक पर्छ । यद्यपि, नागरिक उन्मुक्ति पार्टीले सोनललाई समर्थन दिने भनेको छ ।

सरकार नैतिक संकटमा परेको भन्दै नेकपा माओवादी केन्द्र नयाँ सरकारमा सहभागी नै भएन । सरकार नैतिक संकटमा परेका कारण माओवादी केन्द्र पर्ख र हेरको स्थितिमा रहेको एक सांसदले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *