सर्लाही, २१ मंसिर । सर्लाहीको हरिवन नगरपालिका–५ हिरालाल टोलबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको टोलीले ज.१ च १५५८ नम्बरको एम्बुलेन्सलाई पछ्याउँदै रोकेर जाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरेको हो ।

प्रहरीका अनुसार एम्बुलेन्सको पछाडिको भागमा प्लास्टिकका दुई बोरामा १० प्याकेटमा विभाजन गरी लुकाइ राखिएको अवस्थामा ५१.५ केजी गाँजा फेला पारिएकाे हो । नियमित प्रहरी गस्ती तथा सूचना संकलनको क्रममा एम्बुलेन्समा लागुऔषध लोड गरी लैजाँदै गरिएको भन्ने जानकारी पाएपछि प्रहरी टोली त्यसतर्फ खटिएको थियो ।

उक्त घटनामा संलग्न आरोपमा एम्बुलेन्स चालक, रौतहटको यमुनामाई गाउँपालिका–४ सरूअठा टोलका करिब ३७ वर्षीय सुरेन्द्र राय यादवलाई समेत नियन्त्रणमा लिइएको छ ।

बरामद गरिएको गाँजा, एम्बुलेन्स तथा चालकलाई इलाका प्रहरी कार्यालय हरिवनमा ल्याई आवश्यक थप अनुसन्धान अघि बढाइिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *