सर्लाही, २५ मंसिर । सर्लाहीको चन्द्रनगर गाउँपालिका–६, कामदका नथुनी मुखियाले बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय मलंगवाको परिसरमा आत्मदाहको प्रयास गरेका छन् ।

मुखियाले जिल्ला प्रहरी कार्यालयको गेटभित्र पसेर शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन् । उनले शरीरमा पेट्रोल छर्किएर आगो लगाउन लाइटर निकाल्न खोज्दा खोज्दै प्रहरीले रोकेपछि कुनै अप्रिय घटना हुन पाएन ।

मुखियाले गरिमा विकास बैङ्कले घरजग्गा लिलाम गरेको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमै आत्मदाहको प्रयास गरेका हुन् ।

सर्लाहीका विभिन्न स्थानका स्थानीयले गरिमा विकास बैङ्कले ऋण दिने भनी आफूहरुलाई झुक्याएर जग्गाधनी प्रमाणपुर्जा र अन्य विभिन्न कागजात लिएर ऋण दिँदै नदिइ घर, जग्गा नै लिलाम गरिदिएको गुनासो लामो समयदेखि गर्दै आइरहेका छन् ।

जालसाजी गरेर आफूहरुलाई बर्बाद पारिएको भन्दै स्थानीयले पत्रकार सम्मेलन गर्ने, जिल्ला प्रहरी कार्यालयमा पुगेर हारगुहार गर्ने गर्दै आइरहेका छन् ।जिल्ला प्रहरी कार्यालयमा पुगेका उनीहरुले संचारकर्मीसँग गुनासो राख्दाराख्दै पीडित भनिएकामध्ये मुखियाले शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक विन्देश्वर यादवले गरिमा विकास बैङ्क मलंगवा शाखाका प्रवन्धकसहितलाई राखेर छलफल गराउने तयारी गर्दा गर्दै केही मानिसको हुलसँगै कार्यालय प्रवेश गरेका मुखियाले एक्कासी शरीरमा पेट्रोल छर्किएको बताए ।

उनका अनुसार ऋण लिएका व्यक्तिहरुबाट नै आफूहरु असुरक्षित रहेको भन्दै गरिमा विकास बैंकको मलंगवा शाखाले निवेदन दिएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट समेत केही मानिसहरुबाट प्राप्त गुनासोबारे छलफल गराउन र बैंकका कर्मचारीलाई सुरक्षा प्रदान गर्नु भनी पत्र प्राप्त भएको इन्स्पेक्टर यादवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *