सर्लाही, २७ मैसिर ।  रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरमा विद्युत् सर्ट भएर आगलागी हुँदा एक फुसको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

शुक्रवार राति करिब ११ः५० बजे सतनारायण यादवका  ४० वर्षीय छोरा भोजेन्द्र राय यादवको खरको छानो भएको फुसको घरमा घरभित्रकै विद्युत् तार सर्ट भई आगो लागेको हो ।

आगलागीबाट घरभित्र रहेको धान, गहुँ, गरगहना, फर्निचर, लत्ताकपडा तथा नगद १ लाख ५० हजार रुपैयाँसहित करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विष्णुप्रदीप बस्यालले बताएका छन् । 

घटनामा कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरीको भनाइ छ । आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी चौकी माधोपुरबाट  खटिएको टोली तथा स्थानीय बासिन्दाको सहयोगमा करिब १२ः५५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *