सर्लाही, ११ पुष । रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जामन्त्री कुलमान घिसिङ एउटै पार्टी बनाउन सहमत भएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी जस्ता पुराना शक्तिहरूलाई विस्थापित गर्न नयाँ शक्तिबीच एउटै फोर्स निर्माणको छलफल अन्तिम चरणमा पुगेको एक नेताले जानकारी दिए ।
‘भोलिसम्ममा ठोस परिणाम देखिनेछ । रवि, बालेन र कुलमानको एउटै पार्टी हुनेछ,’ तीन नेताबीचको छलफलमा सहभागी एक नेताले भने, ‘यो चुनावी एलाइन्स मात्र हुने छैन, पार्टी नै एक हुनेगरि हामी छलफल गरिरहेका छौँ । अब त्यो छलफल अन्तिम चरणमा पुग्न लागेको छ ।’
यस विषयमा मेयर बालेन र मन्त्री घिसिङबीच हिजो राति डेढ बजेसम्म छलफल भएको थियो। त्यो छलफलमा धेरै विषय क्लियर भएको ती नेताले बताए। तीन नेताबीच आज पनि छलफल हुने उनले बताए ।
‘यहाँ कुनै पनि पद र अन्य विषयको बार्गेनिङ भएको छैन। अब कुनै पनि हालतमा यो एकता रोकिँदैन। भोलिसम्म एकता भएको विज्ञप्ति आइसक्छ। परिणाम निस्कन्छ,’ उनले भने।
तीन नेताबीचको छलफलमा एकीकृत पार्टीको अध्यक्ष रवि लामिछाने नै रहने सहमति पनि भएको उनले बताए। ‘यो एकतापछि चुनाव चिह्न घण्टी नै हुनेछ,’ उनले भने, ‘चुनाव चिह्नमा कुनै पनि समस्या छैन। फेरि घण्टी चुनाव चिह्न अघिल्लो निर्वाचनमा जनताले अनुमोदन गरिसकेको कारण त्यसमा कुनै फेरबदल हुँदैन।’
विगतदेखि नै रवि, बालेन र कुलमानबीच एकताको पहल गर्दै आएका निवर्तमान स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आगामी चुनावमा कांग्रेस, एमाले र नेकपाले गठबन्धन गर्न सक्ने भएकाले नयाँ शक्ति पनि एक हुनुको विकल्प नभएको बताए।
उनले नयाँ शक्ति एउटै भएर निर्वाचनमा जाँदा प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुनसक्ने संकेत गरे। ‘बालेनलाई अबको प्रधानमन्त्री नकार्न सकिँदैन,’ सिंहले नेपालखबरसँग भने।
सिंहले बुधबार सामाजिक सञ्जालमा पनि यो विषय उठाएका छन्।
‘देशमा भ्रष्टाचार र कुशासनको रजगज चलाउने नेताहरू पुनः सलबलाउन थालेपछि नयाँ शक्तिको रुपमा आएका बालेन शाह, रवि लामिछाने र कुलमान जी लगायतका नेताहरू मिल्नु राष्ट्रहित हो ।
देशभित्रको सबै शिक्षालय संस्थान सार्वजनिक जग्गा सबै सकाएर पनि विश्राम लिन नचाहनेहरूविरुद्धको एकता हो । यो एकताले देशमा बचेको श्रोत साधनको उपयोग गरि राष्ट्र पुनर्निर्माणमा ठूलो योगदान पुर्याउने छ र जनतामा सुशासनको अनुभूति गराउने अभिभारा हाम्रो काँधमा रहनेछ,’ फेसबुकमा उनले लेखेका छन् ।

उनले राष्ट्रिसभा निर्वाचनमा एमाले र कांग्रेसबीच गठबन्धनको सहमति भइसकेको दाबी गरे। ‘प्रतिनिधिसभामा पनि उनीहरू गठबन्धन गरेर जाँदैछन् । यस्तो अवस्थामा नयाँ शक्तिहरू मिल्नुको विकल्प छैन,’ उनले भने ।
