सर्लाही, ०४ माघ । काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) माघ ४ गते (आज) पदबाट राजीनामा दिएपछि औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बन्ने भएका छन् ।

माघ ५ गतेदेखि मधेश प्रदेशबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्न लागेका बालेनको प्रवेशसँगै मधेश केन्द्रित दल तथा नेकपा एमालेभित्र एक किसिमको राजनीतिक असहजता र चिन्ता देखिन थालेको छ ।

महोत्तरीलाई पुख्यौली घर मान्र्ने बालेनण् माघ ५ गते मधेश प्रदेशको राजधानी जनकपुर पुग्दैछन् । रास्वपाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ ।

“मधेशबाट पहिलो प्रधानमन्त्री” भन्ने नारासहित रास्वपाले चुनावी अभियानको सुरुवात जनकपुरबाट गर्न लागेको हो । यसलाई मधेश राजनीतिमा महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ । बालेनको बढ्दो चर्चा र लोक प्रियताले मधेश केन्द्रित दल तथा एमालेका नेताहरू बढी विचलित देखिएका छन् ।

झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने तयारीमा रहेका बालेनलाई महोत्तरीबाट समेत चुनाव लड्न सुझाव आइरहेको छ । यही सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरू बालेनप्रति आलोचनामा केन्द्रित भएका छन् ।

रास्वपाले मधेशबाट चुनावी अभियान सुरु गर्नु रणनीतिक निर्णय भएको जनकपुरका प्राध्यापक तथा राजनीतिक विश्लेषक भोगेन्द्र झाको विश्लेषण छ ।

उनका अनुसार मधेशको समर्थनबिना बहुमत ल्याउन र सरकार नेतृत्व गर्न सम्भव नहुने बुझाइका साथ रास्वपाले बालेनलाई मधेशमा उतारेको हो ।

बालेन युवामाझ लोकप्रिय हुनुका साथै मधेशी समुदायसँग सम्बन्धित भएकाले मधेशको भावनात्मक समर्थन तान्न पार्टीले उनलाई अघि सारेको झाको भनाइ छ । तर मधेश मात्र आधार क्षेत्र भएका दलहरूका लागि बालेन र रास्वपा ठूलो चुनौती बन्न सक्ने विश्लेषण हुन थालेको छ ।

रास्वपाले मधेशमा थुप्रै सिट जित्न सक्ने दाबी पनि सार्वजनिक रूपमा आउन थालेको छ । रास्वपासँग मधेशका जेन–जी अगुवाहरू जोडिदै जानुले पुराना दलहरू थप असहज बनेको देखिन्छ ।

रास्वपा नेतृ तथा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले मधेश केन्द्रित दल र एमालेको बालेन लक्षित आलोचनाको कुनै औचित्य नरहेको बताइन् । उनका अनुसार मधेशमा रास्वपा बलियो हुँदै गएको देखेर विरोध भइरहेको हो ।

बालेन मधेशी भएकाले मधेशमा गएपछि झनै शक्तिशाली बन्ने डर स्थापित नेताहरूमा देखिएको उनको दाबी छ । यता एमाले केन्द्रीय सदस्य तथा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोज यादवले भने बालेनलाई मधेशले स्वीकार नगर्ने दाबी गरेका छन् । उनले काठमाडौंमा असफल मेयरका रूपमा जनमत गुमाइसकेको र आफ्नै जन्मथलो महोत्तरीमा समेत राजनीतिक उपस्थिति देखाउन नसकेको व्यक्ति मधेशमा स्वीकार्य नहुने बताएका छन् ।

जसपा नेपालका नेता जितेन्द्र यादवले बालेन मधेश आउनुमा आपत्ति नरहेको बताउँदै संघीयता कमजोर पार्ने एजेन्डा अघि सारिन सक्ने चिन्ता व्यक्त गरे ।

उनका अनुसार मधेश संघीयताका लागि लडेको भूभाग भएकाले संघीयता समाप्त गर्ने प्रयास भएमा त्यसको कडा विरोध हुनेछ । युवा नेता मनिष यादवले जेन–जी आन्दोलनको नाममा मधेशमा भ्रम सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाए ।

उनका अनुसार बालेन मधेश जानु आपत्तिजनक होइन, तर उनको प्रवृत्ति र मधेशप्रतिको बुझाइप्रति प्रश्न उठाउनुपर्ने अवस्था छ । यसैबीच कांग्रेस नेता जीवनाथ चौधरीले बालेनको विरोध गर्नु हारको मानसिकता भएको टिप्पणी गरेका छन् ।

उनका अनुसार राष्ट्रिय स्तरका नेताहरू मधेश आउनु सामान्य राजनीतिक प्रक्रिया हो र त्यसलाई विवाद बनाउनु गलत हो । २०७९ सालको निर्वाचनमा रास्वपाले मधेश प्रदेशमा समानुपातिक तर्फ एक लाख सात हजार ८४ र प्रत्यक्षतर्फ ३२ हजार ५३७ मत पाएको थियो ।

मधेश प्रदेशमा कुल ३३ लाखभन्दा बढी मतदाता रहेकाले आगामी निर्वाचनमा रास्वपाका लागि मधेश निर्णायक बन्ने देखिन्छ । हालसम्म पार्टीको संगठन सहर केन्द्रित रहेकाले मधेशमा प्रभाव विस्तार गर्न बालेनलाई अघि सारिएको विश्लेषण गरिएको छ ।

राजनीतिक विश्लेषक ई. सत्यनारायण साहका अनुसार बालेन मधेश जानु लोकतान्त्रिक अधिकार हो । मधेश कुनै दल वा समुदायको मात्र नभई सम्पूर्ण नेपाली जनताको भएको उल्लेख गर्दै उनले रास्वपा सत्तामा आए मधेशमा पुराना दलहरूको एकाधिकार अन्त्य हुने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *