सर्लाही, ०७ माघ । सर्लाहीमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी १३९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नं. १ मा २९ जना, क्षेत्र नं. २ मा ३१ जना, क्षेत्र नं. ३ मा ३४ जना र क्षेत्र नं. ४ मा सबैभन्दा बढी ३९ जनाको उम्मेदवारी परेको छ ।
उम्मेदवारी दिनेहरूमध्ये ठूलो संख्या स्वतन्त्र उम्मेदवारको रूपमा दर्ता भए पनि तीमध्ये धेरैजसो विभिन्न दलका उम्मेदवारले खडा गरेका ‘डमी’ उम्मेदवार भएको बताइएको छ ।
उम्मेदवार भएपछि गाडीघोडा प्रयोग, प्रचार–प्रसारलगायत निर्वाचन आयोगबाट उपलब्ध हुने सुविधा प्राप्त गर्न यस्ता डमी उम्मेदवार खडा गर्ने प्रवृत्ति देखिएको छ ।
यसपटक सर्लाहीबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपाका शीर्ष नेता नारायणकाजी श्रेष्ठ, राजेन्द्र महतो, महिन्द्र राय यादव, डा. अमरेशकुमार सिंहलगायत राष्ट्रिय राजनीतिकका चर्चित नेताहरू चुनावी प्रतिस्पर्धामा रहेकाले यहाँको निर्वाचन नतिजा देशभर चासोका साथ हेरिएको छ ।
