सर्लाही, २८ माघ । तराई मधेस द्रुतमार्गको निर्माणका क्रममा टुचन मेसिन खस्दा एक मजदुरको मृत्युु भएको छ । एक जना घाइते भएका छन् ।
टुचन मेसिन खस्दा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ निवासी २९ वर्षीय अर्जुन थिङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताए ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटार छोक्रेडाँडामा फास्ट ट्रयाकको १ नम्बर पुलको खाडल खनेर खाल्डोबाट टुचनमा बसेर बाहिर आउने क्रममा मेसिन खसेको थियो ।
सोही मेसिन खस्दा खाडलभित्र काम गरिरहेका सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भएका ३७ वर्षीय जुल्फे तामाङ घाइते भएका छन् ।
उनलाई उपचारको लागि काठमाडौंतर्फ पठाइएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

