सर्लाही, ०७ साउन । सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्‍को आकस्मिक बैठकले मधेश प्रदेशभरि विपद् संकटग्रस्त घोषणा गरेको हो । यसअघि २६ असारमै मधेश प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

छिटपुट हुने वर्षा र विद्युतीय मोटरको प्रयोग गरी केही मधेशका केही क्षेत्रमा जेनतेन धान रोपाइँ गरिएको छ, तर पर्याप्त वर्षा नहुँदा रोपिसकेको धान सुक्न थालेको छ ।

रोप्न उमारेको बिउ ब्याडमै सुक्न थालेको छ । त्यही सुकिरहेको धान र ब्याड जोगाउन विद्युतीय मोटरबाट सिँचाइ लगाउन किसानहरू लागि परेका छन् ।

रोपेको रोपा र ब्याडमा सुक्न थालेको धानको बिउ जोगाउन किसानहरूले सिँचाइको वैकल्पिक व्यवस्थाको रूपमा विद्युतीय मोटरहरूको प्रयोग बढाउँदै लगेका छन् ।

वर्षभरि खाने खाद्यान्नबाली लगाउन किसानहरू अहिले दिनरात नभनी व्यस्त छन् । यही क्रममा विद्युतीय मोटरको प्रयोगमा सावधानी नअपनाउँदा करेन्ट लागेर किसानहरूले अकालमै ज्यान गुमाउने क्रममा पनि बढेको छ ।

बुधबार मात्रै रौतहटमा धानको रोपमा सिँचाइ गर्न विद्युतीय मोटर चलाउन खोज्दा करेन्ट लागेर दुई जना किसानले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउने दुई जनामध्ये एक हुन् रौतहटका माधवनारायण नगरपालिका-४ विसुनपूर्वा मानपुरका ४० वर्षीय रामबाबु मुखिया । उनी मंगलबार रातिदेखि नै धानखेतमा सिँचाइको व्यवस्था मिलाउन खटिएका थिए । बुधबार बिहान ७ बजेतिर अर्को धान खेतमा उनी पुगे । त्यहाँ पनि उनले विद्युती मोटरबाट सिँचाइ गर्न खोजे । सोही क्रममा रामबाबुलाई करेन्ट लाग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *