सर्लाही, ०९ साउन । सर्लाही भन्सार कार्यालय मलङ्गवा चालु आर्थिक वर्षमा पनि राजस्व सङ्कलनको लक्ष्य पुरा गर्न असफल भएको छ। कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा ५८ करोड ७६ लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा कुल ५३ करोड ७३ लाख १७ हजार ९७६ रुपैयाँ २ पैसा मात्र सङ्कलन गर्न सफल भएको हो, जुन लक्ष्यको ९१.४३ प्रतिशत मात्र हो।
भन्सार कार्यालय सर्लाहीका प्रमुख भन्सार अधिकृत ठाकुर आचार्यका अनुसार अघिल्ला दुई आर्थिक वर्षको तुलनामा यो वर्षको राजस्व सङ्कलनमा केही सुधार देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा ७२.२५ प्रतिशत र २०७९/८० मा ५२.९८ प्रतिशत मात्र लक्ष्य अनुसार राजस्व उठेको थियो। यद्यपि, सतप्रतिशत लक्ष्य प्राप्त गर्न भने अझै चुनौति रहेको उनले बताए।
राजस्व सङ्कलन लक्ष्यमा चुक्नुको प्रमुख कारण बजेट वक्तव्यमार्फत अग्रिम आयकर खारेज हुनु रहेको बताइएको छ। यसका कारण मलङ्गवा नाकाबाट अग्रिम आयकर लाग्ने वस्तुको आयातमा कमी आएको छ। साथै, भारतसँगको खुला सीमा तथा त्यसका कारण हुने अवैध तस्करीले पनि राजस्व सङ्कलनमा समस्या निम्त्याएको भन्सार कार्यालयका कर्मचारीहरू बताउँछन्।
प्रमुख भन्सार अधिकृत आचार्यका अनुसार सर्लाही भन्सारले मुख्य रूपमा भारतबाट आयात हुने धान, आलु र प्याजजस्ता कृषिजन्य वस्तुहरूबाट बढी मात्रामा राजस्व उठाउने गर्छ। तर, नेपालबाट भारततर्फ भने प्लाइ र अन्य केही सामग्री सीमित मात्रामा मात्र निर्यात हुने गरेको छ।
राजस्व सङ्कलन सुधारका लागि नियन्त्रण प्रणाली मजबुत पार्ने र तस्करी नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने माग स्थानीय व्यापारी र सरोकारवालाहरूबाट उठ्न थालेको छ।