सर्लाही, १० साउन । सर्लाहीको सदरमुकाम मलंगवाको मुख्य सडकमा निर्माण कार्य सकिए पनि ठेकेदारले निर्माण सामग्री हटाउन नसक्दा सवारी आवागमनमा गम्भीर अवरोध उत्पन्न भएको छ। सडक किनारमा जथाभावी छाडिएका गिट्टी, बालुवा, ढुंगा जस्ता सामग्रीका कारण दैनिक रुपमा सवारी जाम हुने गरेको छ।

विशेषगरी मलंगवा नगरपालिका–१० स्थित मुरली पोखरी सौन्दर्यकरणका लागि प्रयोग गरिएको निर्माण सामग्री अझै सडकमै थुपारिएको छ। निर्माण कार्य सम्पन्न भइसकेको भए पनि ती सामग्री नहटाइँदा बस, मोटरसाइकल र अन्य सवारी साधन चलाउन मुस्किल परेको छ। “एउटा बस आउँदा नै सडक जाम हुन्छ, दुइटा साधन एकैचोटि पास हुन सक्दैन। योमलंगवाको मुख्य सडक हो, तर हेर्ने कोही छैन।”

त्यसैगरी मलंगवा बजार क्षेत्रमा सडक किनारमा फैलिएको फुटपाथ व्यवसाय र अतिक्रमणले गर्दा जामको अवस्था झनै गम्भीर बन्दै गएको छ। साउन महिनाको अवसरमा बोलबम कावरिया तीर्थयात्रीहरूको ठूलो भीड रहेकाले उनीहरूलाई आवतजावत गर्न समेत कठिनाइ भएको छ।

तर यस्ता समस्याप्रति मलंगवाका ट्राफिक प्रहरी पूर्णरूपमा बेखबर देखिएका छन्। उनीहरू चेकिङ र चित काट्ने काममा मात्र व्यस्त देखिन्छन् भने सडक खाली गराउने र ट्राफिक व्यवस्थापन गर्नेतर्फ कुनै चासो दिएको देखिँदैन।

स्थानीय रामकुमार साह भन्छन्, “सडक त बन्दै छ, ठेकेदारले सामाग्री हटाउँदैन, फुटपाथले बाटो छेकेको छ। ट्राफिक प्रहरी त चुपचाप चित काटेर बसेका छन्।”

स्थानीयबासी र यात्रुहरूबाट तीव्र आलोचना खेपिरहेका ट्राफिक प्रहरी र नगरपालिकालाई चाँडै सडक व्यवस्थापनमा ध्यान दिन र सार्वजनिक आवागमन सहज बनाउन ठोस कदम चाल्न आग्रह गरेका छन् ।

समस्याको समाधान नगरेमा दुर्घटना, अवरोध र तीर्थयात्रीहरूको असुविधा झनै बढ्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *