सर्लाही, ११ साउन । सर्लाहीमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या पछिल्लो एक वर्षमा झण्डै २३ प्रतिशतले घटेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका अनुसार आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म ७३ जनाको ज्यान गएको थियो भने चालु आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म उक्त संख्या घटेर ५६ मा सीमित भएको हो । गम्भीर घाइते हुनेको संख्या पनि अघिल्लो वर्षको ६१४ बाट घटेर हाल ५०१ मा झरेको छ। यद्यपि, सामान्य घाइतेको संख्या भने उल्लेख्य रूपमा बढेर ५०४ बाट १,१८० पुगेको कार्यालयले जनाएको छ ।
दुर्घटनामा आएको यो सुधार ट्राफिक प्रहरीको सक्रिय कारबाही, प्रविधिको प्रयोग र जनचेतनामूलक अभियानको संयुक्त प्रभावका रूपमा लिइएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षमा २० हजार ३४ वटा सवारीसाधनमा कारबाही गरी २ करोड २ लाख १८ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको छ । मादक पदार्थ सेवन गरेर गाडी चलाउने ५१४ चालकलाई नियन्त्रणमा लिई २ लाख ६५ हजार रुपैयाँ जरिवाना तिराइएको छ भने क्षमता भन्दा बढी भार बोक्ने सवारीमाथि कारबाही गर्दै ४ लाख ४५ हजार रुपैयाँ राजस्व उठाइएको छ । लामो दूरीमा चल्ने सार्वजनिक सवारीहरूमा दुई चालकको व्यवस्था सुनिश्चित गर्न ट्राफिक कम्युनिकेशन एप प्रयोग गरिएको छ। सोही क्रममा २३४ वटा गाडीमा दोहोरो चालक नदेखिएपछि ती सवारीमाथि कारबाही गरिँदै २ लाख ३४ हजार रुपैयाँ संकलन गरिएको छ। ट्राफिक प्रहरीले चालु वर्षभर मात्रै २ हजार १ सय ४५ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ, जसबाट १ लाख २५ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष लाभान्वित भएका छन् ।
‘अन द स्पट’ सचेतना, स्कुल बस तथा यात्रुवाहक सवारी चेकजाँच, चाडपर्व लक्षित अभियान, सडक प्रयोगकर्तासँग संवाद, अल्पसंख्यक समुदाय र साइकल तथा उखु ढुवानी गर्ने सवारी चालक लक्षित कार्यक्रमजस्ता विविध क्रियाकलाप सञ्चालन गरिएका छन् । साथै, चालक तथा सहचालकहरूको आँखा जाँच र स्वास्थ्य परीक्षण, विद्यालयमा ट्राफिक शिक्षा, महोत्सवहरूमा ट्राफिक स्टल प्रदर्शनी लगायतका कार्यक्रम पनि सञ्चालन गरिएका छन् ।
ट्राफिक प्रहरीको पहलमा कर्मैया र फुलजोर क्षेत्रमा अस्थायी ट्राफिक पोस्ट स्थापना गर्दै आधुनिक टीभीआरएस प्रणाली लागू गरिएको छ । ईश्वरपुर नगरपालिकाको सहकार्यमा फुलजोर ट्राफिक पोस्टको प्रशासनिक भवनसमेत निर्माण भई सेवा विस्तार गरिएको छ । प्रहरीका अनुसार, प्रविधिमैत्री प्रणाली, स्थानीय तहसँगको सहकार्य र जनचेतनामूलक कार्यक्रमको निरन्तरतामार्फत आगामी दिनमा सर्लाहीलाई अझ सुरक्षित ट्राफिक प्रणालीतर्फ उन्मुख गरिने लक्ष्य लिइएको छ ।