सर्लाही, १२ साउन । सर्लाही जिल्लामा खडेरीका कारण जताततै चापाकल सुक्ने समस्या बढेको छ । खानेपानीको प्रमुख स्रोत रहेको चापाकलमा पानी आउन छाडेपछि स्थानीय थप मारमा परेका छन् । सर्लाहीमा एक दर्जन बढी पालिकामा चापाकल सुक्न थालेपछि स्थानीय खानेपानीको चरम समस्या भोग्न बाध्य भएका छन् ।
सदरमुकाम मलगवासहित दक्षिण–पूर्वी भेगका ब्रह्मपुरी, पर्सा, हरिपूर्वा, ईश्वरपुर, चन्द्रनगरलगायत पालिकामा चापाकल सुक्दा खानेपानीको अभाव बढेको हो । चन्द्रनगर गाउँपालिका–४, पोखरियाकी शान्ति पासवानले गाउँभरको चापाकल सुकेकाले पानीको समस्या परेको गुनासो गर्नुभयो । चापाकलमा पानी नआउँदा पिउने पानीसहित सरसफाइ गर्न र चौपायालाई खुवाउने पानीको अभाव भएको उहाँले जानकारी दिनुभयो । पासवानले भन्नुभयो, “गाउँभरिको कल सुक्दा जताततै खानेपानीको हाहाकार छ । त्यही पोखरी छेउको एउटा कलमा आइरहेको पानी खाइरहेका छौँ ।”
सर्लाहीमा प्रायः पूर्वपश्चिम राजमार्ग क्षेत्र र चुरेभेगमा खानेपानीको स्रोत सुक्ने समस्या हुन्थ्यो । यो वर्ष भने दक्षिणी भेगमा चापाकल र पानीका अन्य स्रोत सुक्ने समस्या देखिएको छ ।
ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष रामपदारथ साहले गएको वर्ष ठाउँ ठाउँमा समरसियल पम्प गाडेर खानेपानी वितरण गरेकाले यो वर्ष खडेरीमा ठुलो राहत मिलेको बताउनुभयो । साहले भन्नुभयो, “दक्षिणी बेल्टमा यसरी चापाकल सुकेर पानीको हाहाकार मच्चिएको थाहा थिएन । हामीले अघिल्लो वर्ष समरसियल नगाडेको भए अझ भयावह स्थिति सिर्जना हुने रहेछ ।”
तत्काल खानेपानीको आपूर्ति गर्न नयाँ धारा जडान गर्ने, ट्याङ्करबाट खानेपानी विरतण गर्ने, सरसियल पम्पलगायत भूमिगत स्रोतबाट खानेपानीको व्यवस्थापन मिलाउन स्थानीय तह, खानेपानी डिभिजन कार्यालय, खानेपानी संस्थानलगायत निकाय लागिपर्ने विपत् समितिको बैठकमा निर्णय गरेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले सदरमुकाम मलङ्गवामा खानेपानी संस्थानसँग समन्वय गरी ट्याङकरमार्फत खानेपानी वितरण जारी रहेको बताउनुभयो ।
खानेपानीको समस्या समाधान गर्न सबै निकाय लागिपरेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठको भनाइ छ । सिडिओ श्रेष्ठले भन्नुभयो, “मलगवामा जहाँ जहाँ समस्या छ त्यहाँ खानेपानी संस्थानले ट्याङ्कर पठाएर पानी बाँडिरहेको छ । अन्य पालिकामा पनि स्थानीय तहलाई खानेपानी वितरण गर्ने निकायसँग समन्वय गरी खानेपानीको अभाव समाधानमा लाग्न आग्रह गरेका छौँ ।” सदरमुकाम मलगवामा रहेका कार्यालयले समेत खानेपानीको समस्या झेलिरहेका छन् । शौचालयमा धरी पानी नहुँदा सरकारी कार्यालयमा सेवा लिन पुगेका सेवाग्राही र कर्मचारी मारमा परेका छन् ।