सर्लाही, १५ साउन । यस वर्ष समयमा पानी नपर्दा मधेश प्रदेशसहित तराई क्षेत्रमा धान रोपाइँ तथा खानेपानीको विकराल समस्या देखिएको छ । अहिले गाउँघरमा खेतीका लागि पानीको अभाव देखिएको छ भने अर्कोतर्फ विभिन्न सदरमुकाममा खानेपानीको हाहाकार देखिएको छ ।
आगामी वर्ष दिनमा पनि सो समस्या दोहरिन सक्ने भएकाले अहिले देखि नै अत्यावश्यक वैकल्पिक व्यवस्था समयमै व्यवस्थापन गर्नुपर्नेमा विज्ञहरुले सुझाएका छन् । मधेश प्रदेशमा यस पटक धान रोपाइँका लागि चाहिने मात्र नभइ खानेपानीको समेत संकट देखा परेको छ । भूमिगत पानी रिचार्ज नहुँदा खानेपानीका लागि चापाकल सुक्न थालेको छ । जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन विज्ञ डा. धर्मराज उप्रेतीले जनाए अनुसार आकाशबाट परेको पानी वन, वनस्पति, रूख, बोटविरुवाका माध्यमबाट जमिनभित्र जानुलाई भूमिगत पानीको रिचार्ज सिस्टम अर्थात पुनर्भरण भनिन्छ । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सुख्खाग्रस्त अवस्थामा रहेको मधेशको अवलोकन गर्दै ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरेका छन् ।
केन्द्रबाट सरकारले मधेशको अवस्थाबारे चासो देखाउँदै प्रधानमन्त्री समेतले अवलोकन समेत गरे तर आकाशबाट पानी नै नपरे बोरिङ जडेर मात्र पानीको संकट पूर्ण रूपमा हल नहुने विज्ञ डा. उप्रेतीले बताए । सरकारले प्रयास त गर्ने हो, गर्नुपर्छ तर पानी नपरेकाले भूमिगत पानी पनि सहजै निस्किँदैन’, कृषि ज्ञान केन्द्र महोत्तरीका कार्यालय प्रमुख देवानन्द राय यादवले भने ।
चुरे विनाश तीव्र रूपमा भइरहँदा कमजोर हुँदै गएको भन्दै यसले पानीको रिचार्जमा प्रभाव परेको र पानीको जमिनभित्रको तह झन् तल गएको उनले बताए । पहिले २०/३० फिट खनेर ह्यान्डपम्पबाट पानी आउने गरेकोमा अहिले ६० फिटसम्म खन्नुपर्ने अवस्था छ। त्यसमा पनि बोरिङबाट पानी तान्दा तत्कालको समस्या हल भए पनि दीर्घकालमा यसले असर गर्ने जलवायु विज्ञ डा. उप्रेतीको ठहर छ । त्यसमा पनि बोरिङबाट पानी तान्दा तत्कालको समस्या हल भए पनि दीर्घ कालमा असर गर्ने डा. उप्रेतीले बताए ।
दीर्घकालीन रूपमा समस्या समाधान गर्नका लागि रिचार्ज सिस्टम (चुरेमा पानी पोखरी, रिचार्ज पोखरीहरू बनाउन) जरुरी रहेको उनले बताए । कृषिविज्ञ डा. कृष्ण पौडेल अबका दिनमा मौसमी प्रतिकूलता थप बढ्न सक्ने भन्दै मुख्य गरी पानीको अनिश्चितताबाट बच्ने उपाय खोज्न जरुरी रहको औंल्याए । तराई मधेशमा देखिएको समस्या समाधानको उपयुक्त उपाय भनेकै चुरेमा पानी बचाउने र खेतीपाती प्रणाली फेर्नु रहेको उनको तर्क छ। ‘चुरे नबचाईकन मधेश बच्दैन भनेर मान्नुपर्छ’, उनले भने ।
पहिले/पहिले पानीलाई तालतलाउ, पोखरी बनाउनुका साथै खेतमा पनि गरा बनाएर पानी रोक्ने प्रचलन थियो तर अहिले कृषि प्रणाली परिवर्तन भइसकेको छ। पहाडमा खेती गर्न नै छाडेर शहर पस्ने बढेका छन् भने तराई र चुरेमा वन विनाश बढेको छ । वन तथा वनस्पति रोप्दा तथा संरक्षण गर्दा बाह्य प्रजातिहरूलाई प्राथमिकता दिँदा पनि समस्याको अर्को कारणका रूपमा देखिएको छ। डा. उप्रेतीका अनुसार मधेशमा पानीको विषयमा छलफल गर्दा केही वर्षअघि त्यहाँ व्यापक रूपमा मसलाको रुख रोपिएको पाइएक छ ।
मसलाको रूखले पानी एकदमै धेरै सोसेर जमिनमा पानी रिचार्ज हुने सिस्टमलाई डिस्टर्व गर्ने र जल स्तर पनि घटाउन मद्दत गरेको पाइएको स्थानीयले अनुभव सुनाए तर यसको वैज्ञानिक पुष्टि भने भएको छैन। तथापि मसलाको रूख एकदमै छिटो बढ्छ र चाँडो बढ्ने रूखले पानी शोषण गर्छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको काम, प्रभाव, मूल्यांकन जरुरी देखिएको बताइन्छ।
प्रत्येक वर्ष योजना बनाउँदा पुनर्भरण अन्तर्गत, पोखरी निर्माण, प्रविधि विस्तारका लागि पनि बजेट छुट् याएर काम गर्नुपर्नेमा जोड दिइएको छ । चुरे क्षेत्र भएर बग्ने नदीको तीव्र रूपमा भइरहेको दोहनले अन्नबालीको संकटसँगै खानेपानीको समस्या र विपद् जन्य घटना बढिरहेको छ। सरकारले चुरे संरक्षणको नाममा करोडौँ रुपैयाँ खर्च गरे पनि नदी दोहन हुँदा पानीको मुहानमा असर देखिएका छन् ।
अहिले रातु खोला लगाएका केही नदीमा भूमिगत सञ्चितीका लागि वाटर रिचार्जको टेक्नोलोजी प्रयोग गरिएका छन् । पानीको रिचार्ज सिस्टममा शहरीकरणले चुरे विनाशले वा जलवायु परिवर्तनका कारण पानी पर्ने तौरतरिका मा आएको परिवर्तनले समस्या आएको हुन सक्ने भन्दै उनले यसमा विस्तृत अध्ययनको खाँचो औंल्याए ।