सर्लाही, १६ साउन । उपभोक्ताले पैसा तिरेपछि मूल्य बराबरको सामान पाउनु संविधानले सुनिश्चित गरेको मौलिक अधिकार हो। तर, सर्लाहीका विभिन्न स्थानमा सञ्चालित पेट्रोल पम्पहरूले यो अधिकारलाई बेवास्ता गर्दै खुलेआम उपभोक्तालाई ठगिरहेका छन्।

मोटरसाइकल, कार वा अन्य सवारी साधनमा इन्धन हाल्न पेट्रोल पम्प पुगेका उपभोक्ताहरूले कहिल्यै पनि तिरेको पैसासँग मेल खाने तेल पाउन सकिरहेका छैनन्। स्थानीयहरूका अनुसार, पेट्रोल पम्पहरूले तेल तौलमै घटाएर कम मात्रामा दिन्छन् तर मूल्य भने पुरै असुल्छन्। यसरी हुने ठगीका कारण उपभोक्ताहरू लामो समयदेखि आर्थिक रूपमा मारमा पर्दै आएका छन्।

यस्तो गतिविधि रोकथामका लागि जिम्मेवार नियमनकारी निकायहरू वर्षौंदेखि मौन रहँदा पेट्रोल पम्प सञ्चालकहरूको मनोमानी झन् बढ्दो छ। जिल्लामा तेल आपूर्ति र वितरणमा पारदर्शिता कायम गर्न कुनै नियमित अनुगमन नभएको स्थानीयको गुनासो छ।

एक उपभोक्ताले भने, “हरेक पटक पेट्रोल हाल्दा मिटरमा देखाइने मात्रा र वास्तविक हालिएको तेलमा फरक पर्छ। तर यसको उजुरी गर्ने निकाय छैन, गुनासो गर्दा उल्टै दुर्व्यवहार हुन्छ।”

यस्तो अवस्थामा उपभोक्ता अधिकार संरक्षणका लागि कानुन भए पनि यसको कार्यान्वयन कमजोर रहँदा पेट्रोल पम्प सञ्चालकहरू ‘दादागिरी’ देखाउन स्वतन्त्र बनेका छन्।

सर्लाहीका सर्वसाधारणले अब तत्काल कडाइका साथ बजार अनुगमन र मापन उपकरणको परीक्षण गर्न सम्बन्धित सरकारी निकायसँग माग गरेका छन्। उनीहरूको भनाइ छ, “उपभोक्ताले दिएको पैसाको मूल्य बराबर तेल पाउने अवस्था नआएसम्म पेट्रोल पम्प सञ्चालकलाई कडा कारबाही गर्नुपर्छ।”

वर्षौंसम्म पेट्रोल पम्पमा देखिएको यस्तो अनियमितता र ठगी रोक्न सकिने कि नसकिने भन्ने प्रश्न भने अझै खुला छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *