सर्लाही, १६ साउन । वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेर सम्बन्धित कम्पनीबाट भागेर साउदी सरकारको कानुन नियम विपरीत काम गरी जेल सजाय भोगेका ६५ जना नेपालीलाई साउदी सरकारले आममाफी दिएको छ ।
दूतावास रियादका अनुसार पवित्र महिना रमजान १४४६ को अवसर पारी साउदीको जेलमा रहेका ६५ जना नेपालीलाई साउदीले सरकारले दूतावासलाई लिखित रूपमा सूचना दिई आममाफी दिएको जानकारी गराएको छ । साथै नेपाली राजदूतावासले उनीहरूको बाँकी सजाय अवधि मिनाहा गरी आममाफी दिएको जानकारी समेत दिएको छ भने आममाफी पाउने साउदीका विभिन्न सहर र विभिन्न जेलमा रहेका थिए ।
आममाफी पाएका नेपालीहरूले विभिन्न अपराधमा मुछिएर जेल कैद सजाय भोग्नु परेको थियो। साउदी अरबमा लामो समयदेखि अवैधानिक रूपमा बस्दै आएका विश्वका विभिन्न देशका नागरिकलाई सरकारले अवस्था हेरी आममाफी दिँदै आएको छ ।
साउदी सरकारले आममाफीका लागि ९० दिनको समय तोकेको हुन्छ। साउदीमा तीन करोड ८४ लाख जनसंख्या मध्ये एक करोड २० लाख आप्रवासी कार्यरत रहेका छन् भने हालसम्म कानुन विपरीत गतिविधि गर्ने ५ सय ४४ नेपाली जेलमा समेत रहेका छन् ।