सर्लाही, १६ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार तुर्कमेनिस्तानको अवाजा सहरतर्फ प्रस्थान गर्ने तयारीमा छन् । उनी त्यहाँ भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुँदैछन् । उक्त सम्मेलन साउन २० देखि २३ गतेसम्म (अगस्ट ५–८, २०२५) आयोजना हुँदैछ ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीलाई तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त रूपमा सम्मेलनमा भाग लिन निमन्त्रणा गरेका हुन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी हुनेछन् । उक्त सम्मेलनमा प्रधानमन्त्री ओलीले कम विकसित राष्ट्रहरूको समन्वय ब्युरो (यूएन–ओएचएलएलएस) का अध्यक्षको हैसियतले प्रमुख सम्बोधन गर्नेछन्। त्यस्तै, सम्मेलनअन्तर्गतको एक उच्चस्तरीय गोलमेच बैठकको सह–अध्यक्षता गर्ने कार्यक्रम समेत तय गरिएको छ। विविध अन्य सत्रमा समेत ओलीको सम्बोधन रहनेछ।
भ्रमणका क्रममा उनले विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने, साथै संयुक्त राष्ट्रसंघ र अन्य अन्तरराष्ट्रिय संस्थाका उच्च अधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा उनकी पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय सांसद सूर्यबहादुर थापा क्षेत्री तथा उच्चपदस्थ सरकारी अधिकारीहरू पनि सहभागी हुनेछन्। प्रधानमन्त्रीको टोली साउन २३ गते स्वदेश फर्किने तालिका रहेको छ ।