सर्लाही, १८ साउन । नेपालमा पोषणस्तर अभिवृद्धि गरिएको चामल वितरण तथा आपूर्ति श्रृंखला व्यवस्थापन सुधार गर्न भारतले नयाँ परियोजना सुरु गरेको छ । विश्व खाद्य कार्यक्रम (WFP) को सहकार्यमा अगाडि बढाइएको यो परियोजना नेपालस्थित भारतीय दूतावासमार्फत सार्वजनिक गरिएको हो ।

दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार, यो परियोजना भारत–संयुक्त राष्ट्रसंघ वैश्विक क्षमता निर्माण पहलअन्तर्गत पर्छ र नेपालको सार्वजनिक खाद्य आपूर्ति प्रणालीलाई दक्ष, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्य लिएको छ । परियोजनाले विशेषगरी खरिद प्रक्रिया, तथ्यांक संकलन र दक्ष जनशक्ति अभावजस्ता मुख्य चुनौतीलाई सम्बोधन गर्नेछ । साथै, डिजिटल प्रविधिको प्रभावकारी प्रयोगमार्फत आपूर्ति श्रृंखलामा गुणात्मक सुधार ल्याउने लक्ष्य छ ।

परियोजना १२ महिनाको अवधिमा तीन चरणमा कार्यान्वयन गरिनेछ। पहिलो चरणमा आवश्यकता मूल्याङ्कन र सरोकारवालासँगको समन्वयमा केन्द्रित काम हुनेछ । दोस्रो चरणमा नमुना कार्यान्वयनसहित नेपाली अधिकारीहरूको अध्ययन भ्रमण तथा विशेषज्ञहरूसँगको अन्तरक्रिया समावेश गरिनेछ। अन्तिम चरणमा प्राप्त अनुभवका आधारमा दीर्घकालीन कार्य योजना निर्माण गरिनेछ ।

यस परियोजनाको प्रशिक्षण पक्ष भारत सरकारको ‘आइटेक’ (ITEC) कार्यक्रमअन्तर्गत सञ्चालन गरिनेछ, जसअन्तर्गत सन् २००१ यता ३ हजारभन्दा बढी नेपाली अधिकारीले भारतमा तालिम प्राप्त गरिसकेका छन् ।

भारतीय दूतावासले यो परियोजनालाई नेपाल–भारतबीचको बलियो विकास साझेदारीको प्रतीकको रूपमा व्याख्या गर्दै दक्षिण–दक्षिण सहयोगमार्फत खाद्य प्रणालीमा नवप्रवर्तन आदानप्रदान र सुधारमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *