सर्लाही, १८ साउन । मधेशको प्राचीन मिथिला क्षेत्रमा मिथिला पञ्चांग र विद्यापति पञ्चांग प्रचलनमा छन् । दुवै पञ्चांगको वर्ष साउनदेखि सुरु हुन्छ । त्यो पनि चन्द्रमास तालिकामा । वर्ष प्रारम्भको यो महिना चाडवाड सुरु हुने सूचनाका रूपमा मानिन्छ ।

साउन कृष्णपक्षको पञ्चमीबाटै मिथिलामा पर्व प्रारम्भ हुन्छ । वर्षको पहिलो पर्व मौन साधनाका लागि प्रसिद्ध छ । बर्तालुले दिनभरि उपवाससँगै मौन व्रत गरेर आत्मसंयम र आत्म निरीक्षण गर्छन् । यो पर्वसँगै नवविवाहिता मिथिलानीको मधुश्रावणी पर्व सुरु हुन्छ । यसैगरी लगपाँच (नागपञ्चमी) यसै महिनामा साउन शुक्ल पञ्चमीका दिन मनाइन्छ । मिथिलाको प्रसिद्ध झुलनोत्सव साउन शुक्ल त्रितीयासँगै सुरु हुन्छ । यी सबै पर्वमध्ये साउन पूर्णिका दिन मनाइने ‘राखी’ विशिष्ट पर्व मानिन्छ ।

मिथिलामा साउन शुक्लपक्ष सुरु हुनासाथै राखीको चहलपहल सुरु हुन्छ । खासमा यो पर्व दाजुभाइ दिदीबहिनीबीच आपसी प्रेम र समर्पणको प्रतीक मानिन्छ । साउन पूर्णिमा नजिकिएसँगै अहिले महोत्तरीसहितका मिथिला क्षेत्रमा राखी (रक्षा बन्धन) पर्वको रौनक छाएको छ । मिथिलामा आउने शनिबार राखी पर्व मनाइँदै छ ।

पर्व नजिकिएसँगै यहाँ दाजुभाइ दिदीबहिनीबीच प्रेम दर्शाउने गीत गुञ्जँदा छन् । पर्वको तयारीले अहिले सम्पूर्ण मिथिला क्षेत्र राखीमय बन्दो छ । ठूला सहर होउन् वा ग्रामीण परिवेशका बजार होउन्, सबैतिर दिदीबहिनीले दाजुभाइलाई हातमा बाँधिदिने कलात्मक ढंगले बनाइएका राखी (धागोका डोरा) बेच्न राखिएका छन् । पर्वविशेषमा दिदीबहिनीको चासो र सरिकता बढ्दो छ । अहिले मिथिलामा किशोरी र नवयौवना मिथिलानी एक आपसमा भेट हुँदा गरिने कुराकानी राखीकै तयारीसँग जोडिएको हुने गरेको छ । पर्व आउन एक सातामात्र बाँकी हुँदा दिदीबहिनी आफ्ना दाजुभाइ को कहाँ छन् ? सोधखोज गर्न लागेका छन् । दाजुभाइलाई राखी बाँध्न निम्ता दिनु, आफ्ना दाजुभाइको नाडीमा सुहाउने राखी ठम्याउनु र पर्वका दिन ख्वाउने सरदामबारे तयारी गर्नु मिथिलानीको अहिलेको प्रमुख काम हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *