सर्लाही, १९ साउन । साढे २ महिना अवधिमा देशभरि लम्पी स्किन रोगबाट २२ हजार बढी गाईभैँसी संक्रमित भएका छन् । पशुसेवा विभागका अनुसार २२ हजार २ सय ५६ गाईभैँसी लम्पी स्किन रोगबाट संक्रमित भएका हुन् । यो रोगका कारण हालसम्म ६ सय ३६ गाईभैँसी मरेको विभागले जनाएको छ ।
हालसम्म देशभरिबाट प्राप्त विवरण अनुसार संक्रमितमध्ये १२ हजार ३ सय २ वटा पशु उपचारपछि निको भएको र ७ हजार ८ सय ६६ अझै सक्रिय संक्रमित रहेका विभागका वरिष्ठ पशु चिकित्सक डा. नवराज श्रेष्ठले जानकारी दिए । सबैभन्दा बढी लम्पी स्किन रोगको संक्रमण कोशी प्रदेशमा भएको छ भने लुम्बिनी, गण्डकी र मधेस प्रदेशमा मध्यम छ ।
कोशी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी ११ जिल्लामा गाईभैँसीमा संक्रमण देखिएको छ । कोशी प्रदेशका झापा, मोरङ, इलाम, सुनसरी, उदयपुर, खोटाङ, धनकुटा, पाँचथर, भोजपुर, ताप्लेजुङ र तेह्रथुममा संक्रमण फैलिएको छ । तर संखुवासभा, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा भने संक्रमण देखिएको छैन ।
निर्देशनालयमा कार्यरत पशु चिकित्सक डा. पुरुषोत्तम पाण्डेका अनुसार कोशीमा हालसम्म २२ हजार १ सय २२ गाईभैँसीमा लम्पी स्किन संक्रमण देखिएको छ । संक्रमित पशुमध्ये ६ सय ३७ को मृत्यु भइसकेको छ ।
तथ्यांक अनुसार कुल संख्यामध्ये कोशीमा संक्रमित राँगा र भैँसी संख्या २ सय २४ छ भने गाईगोरु संख्या २१ हजार ८ सय ९८ छ ।
सबैभन्दा धेरै झापामा १४ हजार ६ सय ९२ पशु रोगबाट प्रभावित छन् भने मोरङमा २ हजार ४ सय ३६ र सुनसरीमा १ हजार ७ सय ५७ पशु प्रभावित छन् । यस्तै इलाममा २ हजार ४२, भोजपुरमा ९७ र सबैभन्दा थोरै तेह्रथुममा ५ र पाँचथरमा १२ वटामा लम्पी स्किन संक्रमण देखिएको छ ।
पशु चिकित्सक डा. पाण्डेले ११ साउनपछि एक साता अवधिमा १ हजार ५ सय ३२ पशु रोगबाट प्रभावित भएको बताए । एक सातामै यो रोगका कारण ८२ पशु मरेका छन् ।
कोशी प्रदेशमा हालसम्म ३ लाख १२ हजार ६ सय ४१ डोज खोप लगाइएको छ ।
लम्पी स्किन रोगका कारण कोशी प्रदेशमा मात्रै १ अर्ब ८ करोड रुपैयाँ बराबर आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ ।
साना पशुमा रोग संक्रमण बढ्यो
निर्देशनालयका निर्देशक सुशीलकुमार अधिकारीले कोशी प्रदेशमा २ महिना अघिदेखि लम्पी स्किन रोग देखा परेको बताए । पछिल्लो चरणमा भने रोगको प्रकोप घट्दै गएको उनको दाबी छ ।
‘अहिले रोग धेरै नै नियन्त्रणमा आइसकेको छ, ठूला पशुमा कम र साना पशुमा रोगको संक्रमण बढी छ,’ उनले भने, ‘विगत २ महिनाको तुलनामा घट्दो क्रममा छ ।’
उनले स्थानीय तहमार्फत निःशुल्क लम्पी स्किनविरुद्धको खोप दिइएको र प्रत्येक जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत उपचारमा सहयोग गरिरहेकाले संक्रमण कम हुँदै गएको दाबी गरे ।
यस्तै रुपन्देही, नवलपरासी, चितवन, मकवानपुर, धनुषा, सप्तरी लगायत जिल्लामा पनि लम्पी स्किन रोगको संक्रमण उच्च देखिएको छ ।
विभागका वरिष्ठ पशु चिकित्सक डा. श्रेष्ठका अनुसार २०८१/८२ मा विभागले लम्पी स्किनविरुद्ध १४ लाख ६० हजार डोज खोप किनिएको थियो । त्यसमध्ये रोग नियन्त्रणका लागि हालसम्म १४ लाख ३९ हजार डोज खोप वितरण भइसकेको छ । अब विभागसँग २१ हजार मात्रै खोप वितरण गर्न बाँकी छ ।
पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले रोग नियन्त्रणका लागि सबैभन्दा पहिलो काम खोप वितरणको गरिएको बताए ।
उनका अनुसार खोप लगाउन नजिकैको पशु सेवा केन्द्र वा पालिकाको शाखामा सम्पर्क गर्न सकिने छ ।
‘विगतमा हामीले यस रोगविरुद्ध खोप लगायौं, खोप लगाएका पशुमा देखिएको छैन,’ महानिर्देशक तिवारीले भने, ‘अहिले खोप लगाउन छुटेका र साना पशुमा पुनः रोग देखिएको छ । र, खोप लगाउन छुटेका र ३–४ महिनाका साना बाच्छाबाच्छीमा यो रोग धेरै देखिएको छ ।’
उनका अनुसार अहिले खोप लगाउने काम भइरहेको छ । खोप लगाइसकेको एक डेढ महिनापछि मात्रै खोपले रोगबाट बचाउन काम गर्ने उनको भनाइ छ ।
लम्पी स्किन रोग पहिलो पटक नेपालमा २०७७ सालमा मोरङमा देखिएको थियो । यो रोग पहिलो पटक सुन्दर हरैँचा नगरपालिका–११ का पशुमा देखिएको थियो ।
परीक्षण क्रममा लम्पी स्किन रोग पुष्टि भएपछि पशु सेवा विभागले थप परीक्षणका लागि रोगी पशुका रिपोर्ट र नमुना अस्ट्रियाको भियनामा रहेको विश्व पशु स्वास्थ्य संगठनबाट मान्यताप्राप्त प्रयोगशाला पठाएको थियो ।
