सर्लाही, १९ साउन । संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौबाट एक महिने जनजागरण अभियान सुरु गरेको छ ।

वर्तमान राजनीतिक अवस्थाबारे देशव्यापी रुपमा जानकारी गराउन एक महिने जनजागरण अभियान सुरु गरको मोर्चाले जनाएको छ । आइतबार काठमाडौंमा अभियानको शुभारम्भ गर्दै मोर्चा आवद्ध दलका शीर्ष नेताहरुले राज्यले मधेशी, जनजाती लगाएत अन्य पछि परेका समूदायलाई उपेक्षा गरेको जनाएका थिए । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दलहरुले भनेजस्तो संविधान संशोधन गर्न सहज नहुने बताउनुभयो । संविधान बनाउनेहरुबाट संविधानप्रति खतरा रहेको उहाको भनाइ छ । ठाकुरले मधेशी समूदायहरुले बराबरको अधिकार पाउन नसकेको भन्दै सवै मिलेर राज्यलाई दवाव दिनुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकमाथि भएको विभेद अन्त्य नभए विद्रोह हुने बताउनुभयो । उहाले सुकुम्वासीका नाममा धेरै खेल भएको भन्दै अहिले पनि आफ्नालाई जग्गा दिनका लागि सरकारले कानून बनाउन खोजेको आरोप लगाउनुभयो । यादवले सरकारले जनताको पक्षमा काम गर्न नसकेकाले सरकारलाई दिएको समथर्न फिर्ता लिएको बताउनुभयो ।

त्यस्तै राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष राजेन्द्र महत्तोले देशलाई साझा नबनाइ नेपाल बन्न नसक्ने बताउनुभयो । देशका सवै ठाँउमा बस्ने सवै समूदायको साझा हुने गरि देशलाई अघि बढाउनुपर्ने उहाले बताउनुभयो । उहाले सवैलाई स्वीकार्य हुने गरि संविधान संशोधन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

संघीय लोकतान्त्रिक मोर्चाले भैरहवा, नेपालगञ्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुरका साथै भाद्र २२ गते वीरगञ्जमा पुगेर जनजागरण अभियान समापन हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *