सर्लाही, २० साउन । सरकारले ‘नयाँ आयोजना घोषणा गर्नु भन्दा पनि पुराना निर्माणाधीन आयोजना सम्पन्न गर्नेतर्फ केन्द्रित’ नीति अवलम्बन गर्दै देशको पूर्वाधार विकासमा उल्लेखनीय गति ल्याएको छ । अघिल्लो सरकारको पालामा रोकिएका, विवादमा परेका वा बजेटीय तथा प्राविधिक समस्याले प्रभावित भएका दर्जनौँ ठूला आयोजनाहरू केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले पुनः गतिको बाटोमा फर्काएको छ । 

प्रधानमन्त्री ओलीको नेतृत्वमा तीव्र अनुगमन, कार्य संस्कृति सुधार र रणनीतिक निर्देशनमार्फत निर्माणको गतिमा अभूतपूर्व सुधार आएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भनाई छ । 

प्रधानमन्त्रीको सचिवालय तथा निजी सचिव विनोदबहादुर कुँवरको समन्वयकारी भूमिकाले यस अभियानमा उल्लेखनीय टेवा पुर्‍याएको छ । 

सचिवालयका अनुशार वर्तमान सरकार गठनअघि काठमाडौँ–तराई मधेस द्रुतमार्गको प्रगति ३५ प्रतिशतमा सीमित थियो भने अहिले यो ४२.१३ प्रतिशतमा पुगेको छ । यस्तै, काँकडभिट्टा–लौकही सडक पूर्वी खण्ड ६ प्रतिशतबाट २२.१२ प्रतिशत र पश्चिम खण्ड ४.७ प्रतिशतबाट २२.१ प्रतिशतमा पुगेको छ । नारायणघाट–बुटवल सडक पूर्वी खण्डमा ५२ प्रतिशतबाट ७० प्रतिशत र पश्चिम खण्डमा ६९.५ प्रतिशत प्रगति भएको छ ।

मुग्लिङ–पोखरा सडक पूर्वी खण्डको प्रगति ६० प्रतिशतबाट ८२.७४ प्रतिशत र पश्चिम खण्ड ४५ प्रतिशतबाट ५४.१ प्रतिशतमा पुगेको छ । नागढुंगा सुरुङमार्ग ६६ प्रतिशतबाट ९२.५ प्रतिशत र प्राविधिक हिसाबले चुनौतीपूर्ण मानिएको सिद्धबाबा सुरुङमार्ग १६ प्रतिशतबाट ५८.३ प्रतिशतमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *