सर्लाही, २१ साउन । कृषि ज्ञान केन्द्र सर्लाहीमा स्यालो ट्युबवेलका लागि २४ सयभन्दा बढी किसानले आवेदन दर्ता गराएका छन् । मधेश प्रदेश सरकारले स्वीकृत गरेको वार्षिक कार्यक्रमलाई सुक्खा राहतमा परिणत गरी १ करोड ८७ लाख बजेटको स्यालो ट्युबवेल जडानका लागि माग गरेको आवेदनमा २४ सय भन्दा बढी आवेदन परेको हो ।
कृषि ज्ञान केन्द्र सर्लाहीका सुचना अधिकृत सिमा कार्कीका अनुसार सात दिनमा २४ सयभन्दा बढी किसानले सिँचाइ गर्ने स्यालो ट्युबवेलका लागि आवेदन दर्ता गराएका हुन् । जिल्लाभरका लागि ६० लाख र बागमती नगरपालिका–२ को लागि २५ लाख, बागमती नगरपालिका–१ र कौडेना गाउँपालिकाको लागि १५ लाख, मलंगवा नगरपालिका, हरिवन नगरपालिका–४, ईश्वरपुर नगरपालिका–१५, धनकौल गाउँपालिका–५, बसबरिया गाउँपालिका–४,५ र ६, तथा बलरा नगरपालिका–७, पर्सा गाउँपालिका, ब्रहम्पुरी गाउँपालिका, हरिपूर्वा नगरपालिकाको लागि ५ लाख बजेट स्यालो ट्युबवेलका लागि प्रदेश सरकारले विनियोजन गरेको छ ।
खडेरीले किसान समस्यामा परेको बेला ट्युबवेल वितरण गर्न कार्यालयमा बजेट न्युन र माग उच्च छ, प्रमुख कमलदेव प्रसाद कुशवाहाले भने, ‘प्रदेश सरकारले विनियोजन गरेको बजेटमा ८० देखि ९० वटासम्म मात्रै स्यालो ट्युबवेल जडान गर्न सकिन्छ । अहिले फाराम भर्न उपभोक्ताको भिड लागेको थियो । स्यालो ट्युबवेलमा माग धेरै भएपछि मन्त्रालयमा जानकारी गराएको र बजेट बढाउन आग्रह गरिएको प्रमुख कुशवाहाले बताए ।
