सर्लाही, २१ साउन । सर्लाहीको सदरमुकाम मलंगवामा छाडा गाई र सूंगुरको आतङ्कका कारण नगरवासी लामो समयदेखि हैरानी र समस्यामा परेका छन् । नगरको मुख्य बजार क्षेत्र तथा भीडभाड हुने चोकहरूमा यत्रतत्र डुल्ने गाई तथा सूंगुरहरूले नगरको सरसफाइ, जनस्वास्थ्य र दैनिक जनजीवनमा प्रतिकूल असर पार्दै आएका छन् ।
मलंगवाभित्र सुँगुर तथा गाई छाडापनका कारण यहाँका सर्वसाधारण जनताले दैनिक दुःख पाउनुको साथै मलंगवा नगरपालिकाले नियन्त्रण गर्नमा ध्यान नदिएकाले पनि मलंगवाको मुख्य चोकमा सुँगुर तथा गाईले दिसा गर्ने र थुपारिएको फोहरमा मुखले खनेपछि ठाउँठाउँमा दुर्गन्ध फैलिने गरेको पाइएको स्थानीयहरुले बताए ।
मलंगवाको मुख्य चोकहरु जिविस चोक, शिवसागर चोक, टावर चोक, अस्पताल सडक र विश्वकर्मा चोक सहितका मानिसको चहलपहल बढी हुने ठाउँमा जताततैबाट सुँगुर तथा गाई आएर दिसा गर्नाले झन् नगरमा दुर्गन्ध फैलिएको नगरवासीले गुनासो गरेका छन् । वर्षौंदेखि यत्रतत्र सुँगुर तथा गाईले नगरमा सर्वसाधारणलाई हैरान पार्दै यहाँ दुर्गन्ध फैलाउँदासमेत यसप्रति नगरपालिकाले कुनै ध्यान नदिएको स्थानियवासीको आरोप छ ।
सुँगुर तथा गाई पालकले आफ्नो खोरमा नराखेकाले पनि मलंगवामा आतङ्क बढ्दै गएको सर्वसाधारणले गुनासो गरेका छन् । साथै, जहाँतहाँ सुँगुर तथा गाईले फोहर गर्नाले नगरमा रोगको सङ्कमण समेत फैलिने सम्भवना देखिएको यहाँका बुद्धिजीवीको भनाइ छ । यसप्रति सम्बन्धित निकायले ध्यान नदिई सुँगुर तथा गाईबाट यहाँ दुर्गन्ध फैलिएर लामखुट्टेको सङ्ख्यामा वृद्धि हुँदा साँझ परेदेखि नै लामखुट्टेले टोक्ने गरेको स्थानीय डा. नरेश यादवले बताए । साथै, लामखुट्टेको टोकाइबाट मलेरियाजस्ता रोग लाग्न सक्ने बताइएको छ । मलंगवाका गल्लीगल्लीमा बस्ने सर्वसाधारण जनतालाई हैरान गर्ने गरेको गुनासो गरेका छन् ।
स्थानीयबासीहरूका अनुसार नगरपालिकाले पटक–पटक गुनासो गर्दा पनि नियन्त्रणमा कुनै ठोस पहल नगर्दा समस्या दिनप्रतिदिन बढ्दै गएको छ। स्थानीय बुद्धिजीवी र सर्वसाधारणले यो समस्यालाई तुरुन्त सम्बोधन गर्न माग गर्दै नगरपालिकालाई ठोस कदम चाल्न आग्रह गरेका छन् ।