सर्लाही, २२ साउन । सर्लाही जिल्लाको बलरा नगरपालिका–१ मा गएराति करिब ९ बजे छुरा प्रहार भएको घटनामा तीन जना घाइते भएका छन् ।

स्थानीय धर्मवीर सहनी, दशरथ सहनी र अमित मण्डल छुरा प्रहारबाट घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बलरा–१ स्थित दुई समूहबीच रक्सी सेवनको विषयलाई लिएर विवाद भएपछि झडप भएको थियो ।

झडपका क्रममा जगरनाथ सहनीका छोरा धर्मवीर सहनीको पेटमा छुरा प्रहारबाट गम्भीर घाईते भएका छन् भने उनका भाई दशरथ सहनीको घाँटीमा सामान्य चोट लागेको छ । त्यस्तै, धनपत मण्डलका छोरा अमित मण्डलको दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ ।

तीनै जनाको बलरा स्थित धुलिखेल अस्पतालमा उपचार गरिएको थियो। उपचारपछि उनीहरू डिस्चार्ज भई घर फर्किएका छन् र हाल सबैको अवस्था सामान्य रहेको छ।

घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी चौकी छन्कीटोलाबाट प्रहरी टोली घटनास्थल पुगेर घाइतेलाई उपचारका लागि अस्पताल पठाएको थियो।

घटनामा संलग्न रहेको आरोपमा भारतका नागरिकहरू अमन सिंह, विकास सिंह, अटल राय र अवशेख सिंह फरार रहेका छन् । उनीहरूको खोजी तथा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

अनुसन्धानको नेतृत्व इलाका प्रहरी चौकी गडहियाका प्रहरी निरीक्षक उज्वल कार्की र जिल्ला प्रहरी कार्यालय सर्लाहीका निरीक्षक अशोक आले मगरको कमाण्डमा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *