सर्लाही, २४ साउन । आज कोशी र बागमती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा हल्का पानी परिरहेको छ ।
गएराति देशका पूर्वी र मध्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको थियो । महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम साधारणतया बदली रहनेछ ।
त्यस्तै कोशी, बागमती, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भागका केही ठाउँमा र बाँकी भागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।
आज राति मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भागका केही ठाउँमा तथा बाँकी प्रदेशका पहाडी र तराइ भागका थोरै ठाउँमा पानी पर्ने सम्भावना छ ।
त्यस्तै कोशी र बागमती प्रदेशको पहाडी भाग र मधेश प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।