सर्लाही, २४ साउन । आज देशभर जनै पूर्णिमा (ऋषि तर्पणी) र रक्षाबन्धन श्रद्धा र उल्लासका साथ मनाइँदै छ। बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीहरू नदी, ताल, पोखरी वा कुण्डमा स्नान गरी गुरु पुरोहितबाट मन्त्रपाठसहित नयाँ यज्ञोपवीत (जनै) र रक्षासूत्र (डोरो) धारण गर्दैछन्।
पौराणिक कथाअनुसार सत्ययुगमा दानवराज बलीलाई गुरु वृहस्पतिले मन्त्रसहित डोरो बाँधेर बाँधिदिएपछि यो परम्परा सुरु भएको हो। वैदिक मन्त्र “येन बद्धो बलिराजा…” उच्चारण गर्दै रक्षासूत्र बाँध्दा नकारात्मक शक्तिबाट सुरक्षा मिल्ने विश्वास छ। ब्राह्मण, क्षत्रिय र वैश्य वर्णका तागाधारीहरूले आजको दिन नयाँ जनै धारण गर्ने शास्त्रीय विधान छ। श्रावण शुक्ल चतुर्दशीदेखि व्रत बस्दै आएका तागाधारीहरूले श्रावणी स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी आठ महर्षिहरूको पूजा गर्छन्। यस दिनलाई ऋषि तर्पणी पनि भनिन्छ ।
पशुपतिनाथ मन्दिर, वसन्तपुरको अशोकविनायक, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, जनकपुरको धनुषसागर–गंगासागर, जुम्लाको दानसाधु र त्रिवेणीधामलगायतका तीर्थस्थलमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।
जनै पूर्णिमामा क्वाँटी खाने परम्परा पनि विशेष मानिन्छ। ११ थरिका गेडागुडी टुसाएर बनाइने क्वाँटीले रोग प्रतिरोधक क्षमता बढाउने, पाचन सुधार्ने र चिसो मौसममा शरीर तातो राख्ने धार्मिक तथा आयुर्वेदिक विश्वास छ। नेपालका तराई क्षेत्रमा भने यो दिन दिदी बहिनीहरूले दाजुभाइलाई राखी बाँधेर प्रेम र आत्मीयताको अभिव्यक्ति गर्छन्। यो परम्परा हाल पहाडी क्षेत्रमा पनि विस्तार हुँदै गएको छ ।