सर्लाही, २५ साउन । सर्लाही जिल्लाको बलरा नगरपालिका–६ मिर्जापुरमा एक किशोरीको खोलामा डुबेर मृत्यु भएको छ । बलरा नगरपालिका–६ मा बस्ने १६ वर्षीया रंगिला कुमारी बैठाको शनिबार साँझ करिब साढे ४ बजे खोलामा डुबेर ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय गडहियाका प्रहरी निरीक्षक उज्जवल कार्कीका अनुसार रंगिला कुमारी घाँस काटेर घर फर्कने क्रममा पुरानो मनुसमारा खोला तर्दै गर्दा खुट्टा चिप्लिएर लडेकी थिइन् ।

लड्दा उनको टाउको जलकुन्भीमा अड्किएर डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी चौकी अर्नाहाबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया (मुचुल्का) पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको जनाएको छ । मनुसमारा खोला घटनास्थल अर्नाहा प्रहरी चौकीबाट करिब ३ किलोमिटर उत्तरतर्फ पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *