सर्लाही, २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भण्डारण गरिरहेको रासायनिक मलको विवरण सार्वजनिक गरेका छन् । उनले कृषकलाई खेतीपातीको समयमा मलको कमी नहोस् भनेर विशेष व्यवस्था गरिएको बताएका छन् ।
प्रधानमन्त्रीका अनुसार हाल देशभर तत्काल प्रयोगका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात छ । साथै, थप १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आपूर्ति प्रक्रियामा रहेको जानकारी उनले दिएका छन् ।
कृषि सामग्री कम्पनीमा अहिले २९ हजार १११ मेट्रिक टन मल उपलब्ध छ। यसमा युरिया १६,५३९ मेट्रिक टन, डिएपी ७,६५३ मेट्रिक टन र पोटास ४,९१५ मेट्रिक टन छन् ।
त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनमा १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात रहेको छ। यसमा युरिया १०,९८४ मेट्रिक टन, डिएपी ९४२ मेट्रिक टन र पोटास १,७८५ मेट्रिक टन छन् ।
प्रधानमन्त्री ओलीले कतै मलको अभाव देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गर्दै भने, “यो वर्ष मलको अभाव हुन दिने छैनौं, खेतबारी हराभरा बनाउन सबै मिलेर लागौं ।”