सर्लाही, २७ साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संवैधानिक अंगहरूमा राजनीतिक भागबण्डाका व्यक्ति पुग्नाले थिलथिलो भएको बताएका छन् ।संवैधानिक आयोग र राजदूतहरूमा समेत भागबण्डा हुँदा संविधानको मर्म अनुसार समावेशिता सिद्धान्तको समेत कार्यान्वयन हुन नसकेको उनको भनाइ छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संघीय संसदको संसदीय सुनुवाइ समितिले संवैधानिक नियुक्तिमा समावेशितालाई ख्याल गर्न सुझाउँदै आएको स्मरण गरे । तर, कार्यान्वयन हुन नसकेको भनेर असन्तुष्टि जनाए । विश्व विद्यालयहरूमा हुने नियुक्तिमा समेत भागबण्डा हुने गरेको उल्लेख गर्दै उनले भने, ‘कहीँ दुनियामा नभएको राजनीतिक भागबण्डा नेपालमा विभेद हुनु नौलो होइन ।’ समावेशीता र सामाजिक न्यायको कोणबाट नियुक्तिहरू हुनुपर्ने उनको आग्रह छ । न्यायाधीश नियुक्ति, राजदूतहरू, संवैधानिक अन्य नियुक्ति हेर्दा एकै जातको वर्चस्व रहेको पाउन सकिने उनले बताए । नेपाल बहुभाषिक मुलुक भएकाले यसअनुसारको नीति र व्यवहार प्रदर्शन हुनुपर्ने र राजनीतिक भागबण्डाको आधारमा अवसर प्रदान गर्ने कार्य हुन नहुने उनको आग्रह छ ।