सर्लाही, २७ साउन । सर्लाही जिल्ला अदालतले एक वर्षमा तीन हजार ३५८ मुद्दा फछर्यौट गरेको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो आर्थिक वर्ष २०८०/८१ बाट जिम्मेवारी सरेर आएकासहित छ हजार ७० मुद्दा दर्ता भएका थिए । तीमध्ये तीन हजार ३५८ मुद्दा फछर्यौट भएको र बाँकी रहेका दुई हजार ७१२ मुद्दा चालु आर्थिक वर्ष २०८२/८३ का लागि जिम्मेवारी सरेर आएका सर्लाही जिल्ला अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्रीले बताए । उनका अनुसार अघिल्लो आव २०८०/८१ बाट जिम्मेवारी सरेर आएका दुई हजार ३४४ मुद्दामध्ये एक हजार ५८८ मुद्दा फछर्यौट भएका छन् ।

यस्तै गत आर्थिक वर्ष २०८१/८२ मा नयाँ दर्ता भएका तीन हजार ७२६ मुद्दामध्ये एक हजार ७७० मुद्दा फछर्यौट भएका सर्लाही जिल्ला अदालतले जनाएको छ । जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएकासमेत गरेर गत आव २०८१/८२ मा ५५.३२ प्रतिसत मुद्दा फछर्यौट भएको श्रेस्तेदार खत्रीले सुनाए । चालु आव २०८२/८३ मा जिम्मेवारी सरेर आएका दुई हजार ७१२ मुद्दामध्ये एक वर्षभित्रको एक हजार ९५४, एक वर्षदेखि १८ महिनासम्मको ३७३, १८ महिना नाघेको २३० र दुई वर्ष नाघेको मुद्दा १५५ वटा रहेका छन् ।

अदालतले दुई वर्षमाथिको मुद्दा शून्य पार्ने लक्ष्य रहेकोमा पक्राउ पुर्जी तामेलीमा समस्या आएर १५५ वटा मुद्दा बाँकी रहेका छन् ।

दरबन्दी अनुसार न्यायाधीश नहुनु र छोटो अवधिमै न्यायाधीशको सरुवा भइरहने मुख्य कारणले गर्दा ५५.३२ प्रतिसत मुद्दा मात्रै फछर्यौट भएको सर्लाही जिल्ला अदालतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *