सर्लाही, २७ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित छ। जसको प्रभावले देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेस प्रदेशलगायत देशका बाँकी तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी भू-भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।आज राति देशभर पूर्णतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको तथा गण्डकी प्रदेशको पहाडी र तराई साथै लुम्बिनी प्रदेशको तराईको भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
