सर्लाही, २७ साउन । डा. गोविन्द केसीले मेडिकल शिक्षाको शुल्क र सिट संख्या यथावत राख्न सरकारलाई आग्रह गरेका छन् । अन्यथा सत्याग्रह सहितको आन्दोलनको गर्न बाध्य हुने चेतावनी उनले दिएका छन् ।
डा. केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘मेडिकल शिक्षाको सिट संख्या र शुल्क यथावत राख्न सरकार र चिकित्सा शिक्षा आयोगलाई बारम्बार गरेको आग्रहलाई नजरअन्दाज गरी तत्कालै सिट बढाउने निर्णय गर्दैछन् भन्ने समाचारले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । एउटा पनि सिट नबढाउन र शुल्क नबढाउन ओली सरकार लगायत आयोगको पुनस् ध्यानाकर्षण गराउँदै चेतावनी दिन्छौँ । अन्यथा सत्याग्रह सहितको आन्दोलन गर्न बाध्य हुनेछौँ भन्ने कुरा जानकारी गराउन चाहन्छौँ ।’ डा. केसीले प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धी ऐन लगायत एकीकृत प्रतिष्ठान ऐन तुरुन्त पारित गर्न, इलाम-उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा प्रतिष्ठान खोल्न र सरकारी स्वास्थ्य संस्थाहरूमा दरबन्दी वृद्धि गर्ने लगायतका विषयमा विगतमा आफूसँग भएका सम्झौताहरू तुरुन्त कार्यान्वयन गर्न माग पनि गरेका छन् ।
साथै, २०८५ सालदेखि मेडिकल शिक्षा गैरनाफामूलक बनाउने कानुनी प्रावधानको प्रक्रिया अगाडि बढाउन पनि उनले माग गरेका छन् ।