सर्लाही, २८ साउन । नेपालमा सञ्चालित  कूल ७७ कारागारहरुमा क्षमताभन्दा ६७ प्रतिशत बढी पुरुष बन्दी रहेको गृह मन्त्रालयले जनाएको छ । तर महिला बन्दी भने कारागारको क्षमता अनुसार नै रहेको मन्त्रालयले जनाएको छ ।

आज संसदीय समितिको बैठकमा गृह मन्त्री रमेश लेखकले प्रस्तुत गरेको असार मसान्तसम्मको तथ्यांक अनुुसार देशभरका कारागारमा रहेका पुरुष ब्लकको कूल क्षमता १६ हजार ६२५ जना हो । तर ती पुरुष ब्लकहरुमा २७ हजार १६८ जना पुरुष बन्दीहरु छन् । ‘यस तथ्यांकले प्रत्येक कारागारमा क्षमताभन्दा औसतमा ६७ प्रतिशत बढी देखिन्छ,’ कानून, न्याया तथा संसदीय मामिला समितिको बैठकमा लेखकले भने, ‘अर्को शब्दमा भन्दा एक सय जनाको क्षमता भएको कारागारमा औसतमा सरदर १६७ जनालाई राख्नु परेको अवस्थामा हामी छौं ।’

उनले महिलातर्फ देशभर सन्चालनमा रहेका ५० वटा कारागारको क्षमता २ हजार ५०१ जना रहेकामा महिला बन्दीको संख्या १ हजार ५५० जना छन् । ‘यो क्षमता भित्रै छ । यसले समस्या छैन,’ उनले भने ।
ज्येष्ठ नागरिक ६६ र आश्रित बालबालिका ६४ जना

गृहमन्त्री लेखका अनुसार नेपालका ७२ वटा जिल्लामा ७५ कारागार छन् । भक्तपुर, धनुषा, बारा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैनन् भने काठमाडौं, दाङ र बाँकेमा दुई/दुईवटा कारागार छन् ।

ती कारागारहरुमा थुनुवा र कैदी गरेर जम्मा २८ हजार ७१८ जना छन् । थुनुवातर्फ ९ हजार ८३९ पुरुष र ५९६ जना महिला गरी जम्मा १० हजार ४३५ जना छन् ।

यसैगरी कैदीतर्फ १७ हजार ३२९ पुरुष र ९५४ जना महिला गरी कूल १८ हजार २८३ जना छन् ।

यीमध्ये ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक ६६ जना र आश्रित बालबालिका ६४ जना छन् । यसैगरी १ हजार ४२७ जना विदेशी नागरिक छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *