सर्लाही, २८ साउन । गृह मन्त्रालयले तोकिएको कार्यस्थलमा हाजिर नभएका दुई कर्मचारीको गैलकट्टी गरेको छ । गृह सचिव स्तरको निर्णयअनुसार शाखा अधिकृत दिनेश सिवाकोटीलाई ६१ दिन र नायब सुब्बा सुवास पौडेललाई ५१ दिनको गैलकट्टी सजाय दिइएको हो ।

पौडेललाई जिल्ला प्रशासन कार्यालय गुल्मी सरुवा गरिएकोमा उनी त्यहाँ नगई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पुगेका थिए । सिवाकोटीलाई इलाका प्रशासन कार्यालय चौरझारी, रुकुम पश्चिम खटाइएकोमा उनी नगई निर्वाचन आयोगमा सरुवा भएका थिए । गृह मन्त्रालयका अनुसार दुवैलाई स्पष्टीकरण सोध्दा सन्तोषजनक जवाफ नआएपछि गैलकट्टी गरिएको हो। यद्यपि नायब सुब्बा पौडेलको हकमा भने अप्रेसन गर्नु परेकोले तत्काल खटाएको ठाउँमा जान नसकेको र बिदाका लागि निवेदन दिन खोज्दा सरुवा भई जाँदा मिलाउन सकिने भएकोले अहिले पर्दैन भनेपछि दर्ता नै नगराई बसेको बुझिएको छ । 

मन्त्रालयले खटाइएको कार्यालयमा हाजिर नभएका थप ३५ जना कर्मचारीलाई साउन २८ गतेसम्म उपस्थित हुन चेतावनी दिएको छ। साउन २६ गतेदेखि तीन दिनको समय दिइएकोमा तोकिएको म्यादभित्र नगए निजामती सेवा ऐन/नियम अनुसार कारबाही गरिने मन्त्रालयको भनाइ छ।

यसका बीच अटेरी गर्ने कर्मचारीलाई सजग गराउन र कारबाहीको दायरामा ल्याउन जरुरी रहे पनि कतिपय अवस्थामा व्यवहारिकता हेर्नुपर्ने कर्मचारीहरूको भनाइ छ। साथै, माथिल्लो तहमा विशेष गरी उपसचिव तथा सहसचिवलाई महिनौँसम्म जिम्मेवारी नदिई राख्ने गरेको विषय पनि उठेको छ। जसबारे गृह मन्त्रालय थप गम्भीर बन्नुपर्ने औँल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *