सर्लाही,२८ साउन । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले आफ्नो राजीनामाको घोषणा गरेका हुन् । खतिवडाको राजीनामा हालै राज्य व्यवस्था समितिबाट पारित निजामती सेवा विधेयकको प्रतिवेदनमा देखिएको गम्भीर त्रुटिपछि आएको हो । संसदीय छानबिन समितिले प्रतिवेदनमा गल्ती भएको निष्कर्ष निकालेपछि, सभापतिसहित समितिका जिम्मेवारीबारे प्रश्न उठिरहेका थिए । राजीनामा अघि खतिवडाले बैठकमा बोल्दै आफू सुरु देखिनै सरकारी कर्मचारीका लागि ‘कुलिङ अफ पिरियड’ लागू हुनुपर्ने पक्षमा रहेको र भविष्यमा पनि यही अडान रहने बताए । उनले निजामती सेवा विधेयकको प्रतिवेदनमा आफ्नो हस्ताक्षर रहेको स्वीकार गरे तर गल्ती आफू र समितिका सदस्यबाट नभएको दाबी गरे । उनका अनुसार, सरकारी कर्मचारीलाई अवकाश लगेपछी तत्काल संवैधानिक वा कूटनीतिक नियुक्ति दिनु हुँदैन । यस्तो प्रथा सरकारको कामकारबाहीलाई प्रभावित पार्ने र पदलाभको आशमा कर्मचारीले गलत कार्य गर्न सक्ने खतरा हुने उनले औंल्याए । त्यसैले, दुई वर्षको कुलिङ अफ पिरियडको प्रावधान राख्न आफ्नो नेतृत्वमा समिति लागिपरेको उनले स्मरण गराए । तर, प्रतिवेदन लेखनमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र संघीय मामिला मन्त्रालयका कर्मचारी संलग्न रहेकाले त्रुटि त्यहीँबाट भएको उनको भनाइ छ । उनले अन्तिम प्रतिवेदनलाई पर्याप्त गहिराइमा नहेर्नु कमजोरी भएको स्वीकार गरे । “यो कमजोरी केवल मेरो मात्र होइन, संसद्का सबै सदस्यहरूले प्रतिवेदन हेरेका थिए,” उनले भने । खतिवडाले राष्ट्रिय सभामा एमालेतर्फबाट कुलिङ अफ पिरियड हटाउने संशोधन प्रस्ताव दर्ता भएको स्मरण गर्दै आफू गठबन्धनको नीति प्रति अडिग रहेको स्पष्ट पारे । उनको विश्वास अनुसार, राष्ट्रिय सभाबाट अन्ततः दुई वर्षको कुलिङ अफ पिरियड कायम राख्ने प्रावधानसहित विधेयक पारित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *