सर्लाही, २९ साउन । राज्यले कैदीबन्दीलाई थुनामा राख्दा प्रतिकैदी वार्षिक ७९ हजार १९८ रुपैयाँ खर्च हुने गरेको छ । बुधवार बसेको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले यस्तो खुलासा गरेकी हुन् । सरकारले गतवर्ष खाना, स्वास्थ्य, न्याय लगायतका क्षेत्रमारु प्रतिकैदी ७९ हजार १९८ रुपैयाँ खर्च गरेको उनले जानकारी दिइन् । सरकारी तथ्याङ्ककै आधारमा हिसाब गर्दा कैदीबन्दीको व्यक्तिगत खाना, स्वास्थ्य, न्याय लगायतका कुरा २ अर्ब २७ करोड ४४ लाख ८ हजार १६४ रुपैयाँ वार्षिक हुने गरेको छ। देशभर हाल २७ हजार कैदीबन्दी रहेका छन् । मान्छे थुनेर राख्दा दुई अर्ब वार्षिक खर्च गर्नु भनेको ठूलो खर्च भएको सांसद गौतमको भनाइ छ । गौतमले भनिन्, ‘गतवर्ष प्रतिकैदी वार्षिक लागत ७९ हजार १९८ रुपैयाँ भनेर लेख्नुभएको छ । हाम्रो खर्च यो तथ्याङ्कको आधारमा २ अर्ब २७ करोड ४४ लाख ८ हजार १६४ रुपैयाँ हुँदो रहेछ । कैदीबन्दीलाई हामीले गर्ने वार्षिक खर्च हो । यो ठूलो खर्च हो । यसमा भवनको खर्च, प्रशासनिक खर्च झन् कति आउँदो हो ।’ उनले कैदीबन्दीलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताइन् । हालसम्म कैदीबन्दी लाई उत्पादनमा जोड्न नसकेको उल्लेख गर्दै उनले केही कैदीबन्दीले गरेका उत्पादनले पनि बजार नपाएको बताइन् । कैदीबन्दीलाई उत्पादनमा जोडेर उनीहरूको उत्पादनलाई बजारीकरण गर्न राज्यले ध्यान दिनुपर्ने उनको भनाइ छ ।