सर्लाही, २९ साउन । संयुक्त राज्य अमेरिकाको आर्थिक सहयोगमा सञ्चालित मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) नेपाल कम्प्याक्टअन्तर्गत विद्युत प्रसारण आयोजना अघि बढाउन दुईवटा प्रमुख सम्झौतामा हस्ताक्षर भएको छ ।
एमसिसीको स्थानीय निकाय मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए-नेपाल) ले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियामार्फत दुई कम्पनीसँग ठेक्का सम्झौता गरेको छ । रातमाटे-नयाँ दमौली प्रसारण लाइन निर्माणका लागि एञ्जेलिक-स्किपर संयुक्त उपक्रमसँग सम्झौता गरिएको छ । नयाँ दमौली-नयाँ बुटवल प्रसारण लाइन निर्माणका लागि वाइबा-सलासर संयुक्त उपक्रमसँग सम्झौता भएको छ ।
यी सम्झौताअन्तर्गत १८० किलोमिटर लामो ४०० केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण र सञ्चालन गरिनेछ । यसको कुल लागत १५ करोड ४५ लाख अमेरिकी डलर छ, जसलाई हालको विनिमय दर (१ डलर बराबर १४० रुपैयाँ) अनुसार २१ अर्ब ६३ करोड रुपैयाँ हुन आउँछ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा अर्थ मन्त्रालयका सचिव, नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरू, एमसिसीका कार्यवाहक उपाध्यक्ष र नेपालस्थित अमेरिकी दूतावासका अधिकारीहरूको उपस्थिति थियो ।
एमसिसीका कार्यवाहक उपाध्यक्ष जोन विङ्गलले यी सम्झौताहरूले नेपालको विकास लक्ष्यमा अमेरिकाको निरन्तर सहयोगलाई पुष्टि गरेको बताए । उनले नेपालमा बिजुलीको उपलब्धता र विश्वसनीयता बढाउन तथा क्षेत्रीय विद्युत व्यापार विस्तार गर्न नेपाली साझेदारसँग काम गर्न पाउँदा आफूलाई गर्व लागेको बताए ।
अर्थ मन्त्रालयका सचिव तथा एमसिए-नेपाल सञ्चालक समितिका अध्यक्ष घनश्याम उपाध्यायले नेपाल सरकारको प्रसारण लाइन निर्माण योजनालाई सहयोग गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिँदै यो कार्यक्रमका लागि सरकारी सहयोग निरन्तर रहने बताए ।
नेपालस्थित अमेरिकी दूतावासका नियोग उप-प्रमुख जेसन मीक्सले यो सम्झौता अमेरिकाको नेपालप्रतिको स्थायी प्रतिबद्धताको प्रतीक भएको बताए । उनले यस साझेदारीमार्फत केवल पूर्वाधार मात्र नभई नेपालको दीर्घकालीन विकासलाई पनि गति दिइरहेको बताए ।
एमसिए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले कम्प्याक्टलाई अगाडि बढाउन अमेरिका सरकारबाट प्राप्त निरन्तर सहयोगको प्रशंसा गरे । उनले यो उपलब्धिले नेपाल सरकार र सबै सरोकारवालाको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको र आफूहरू दिगो सहकार्यका साथ सफल कार्यान्वयनमा केन्द्रित रहेको बताए ।
एमसिसी नेपाल कम्प्याक्ट निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि अनुकूल वातावरण बनाउने उद्देश्यका साथ ६९ करोड ७० लाख अमेरिकी डलरको ऐतिहासिक लगानी हो । यसले विद्युत प्रसारण आयोजना र सडक मर्मत आयोजना कार्यान्वयन गरेर नेपालको आर्थिक विकासमा टेवा पुर्याउने लक्ष्य राखेको छ ।
ठेक्का ४२ महिनाको दिइएको छ। निर्माण कम्पनीहरूले तोकिएको समय भित्रै निर्माण गर्ने प्रतिबद्धता गरेका छन् ।