सर्लाही, २९ साउन । गएको असार १३ गते सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाप्रति चित्त नबुझेर पुनर्योग (रिटोटलिङ)मा गएकमध्ये ८ सय ६० विद्यार्थीको नतिजामा परिवर्तन भएको छ । 

नतिजा चित्त नबुझेका २७ हजार ३१५ जनाले पुनर्योगका लागि निवेदन दिएका थिए। जसमध्ये ८ सय ६० विद्यार्थीको नतिजा परीवर्तन भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए । 

नतिजा परिवर्तन भएपछि केही विद्यार्थीको प्राप्ताङ्क वृद्धि हुँदा चार जीपीएसम्म पुगेको छ ।  ०८१ सालमा सञ्चालित एसईई परीक्षाको नतिजा गत असार १३ गते सार्वजनिक भएको थियो। परीक्षामा सहभागीमध्ये ६१.८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । 

परीक्षामा सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये दुई लाख ७१ हजार २९९ जना उत्तीर्ण भएका छन् । एक लाख ६७ हजार ५९७ जना अनुत्तीर्ण अर्थात् नन ग्रेडेडमा परेका छन् । 

यसैबीच बोर्डले आजदेखि एसईईकाे ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको छ। ग्रेडवृद्धि परीक्षाको लागि एक लाख ४२ हजार ८५३ जनाले फर्म भरेका बोर्डले जनाएको छ । 

ग्रेड वृद्धि परीक्षाका लागि बोर्डले मुलुकभर ४६९ परीक्षा केन्द्र तोकेको छ । परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजीको परीक्षा हुँदै छ। साधारण धारका विषयको परीक्षा भदौ ४ गते तथा प्राविधिक धारका भदौ ६ गते सकिने छ । 

ग्रेड वृद्धि परीक्षाको नतिजा दसैँअघि सार्वजनिक गर्ने गरी तयारी गरिरहेको बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *