सर्लाही, २९ साउन । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत थापालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै विषेश अदालतले ८ वर्ष कैदको फैसला सुनाइएको छ । बिहीबार थापासहित अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख सागर पौडेललाई नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको ठहर गर्दै जनही ८ वर्ष कैद र १० करोड ९ लाख ७८ हजार २ सय ९९ रुपैयाँ १३ पैसा जरिवाना सजाय सुनाएको हो । थापा सहित तीनै जनालाई विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले साउन २१ गते कसुरदार ठहर गरे पनि बिहीबार सजाय निर्धारण गरेको हो । साथै अदालतले उनीहरुबाट पीडित राहत कोषमा ४० लाख ३९ हजार १३१ रुपैयाँ ९७ पैसा दाखिला गराउनेसमेत फैसला गरेको छ । उनीहरुले ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बराबरको नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको अदालतको ठहर छ ।विशेष अदालतले यसअघि थापालाई गैरकानुनी सम्पत्तिको मुद्दामा एक वर्ष कैद र बिगो बराबरको जरिवाना हुने फैसला सुनाएको थियो। मेयर थापाले तीन करोड ४५ लाख २२ हजार ३८७ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *