सर्लाही, २९ साउन । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमण र जग्गा संरक्षणका क्रममा उत्पन्न विवादबारे अध्ययन गर्न नेपाल पत्रकार महासंघले केन्द्रीय मिसन टोली गठन गरेको छ ।
महासंघको केन्द्रीय कार्यालयले केन्द्रीय लेखा समिति संयोजक केसी लामिछानेको संयोजकत्वमा केन्द्रीय सदस्य राजेश कुमार कर्ण र राजु विश्वकर्मालाई सदस्य बनाएर तीन सदस्यीय टोली खटाएको हो । महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा टोलीले पीडित, प्रत्यक्षदर्शी, सम्बन्धित निकाय र विवादित पक्षसँग छलफल तथा परामर्श गरेर छिट्टै प्रतिवेदन पेश गर्ने उल्लेख छ । प्रतिवेदनका आधारमा महासंघले आवश्यक कानुनी र संस्थागत कदम चाल्ने तयारी गरेको महासचिव दाहालले स्पष्ट पारेका छन् ।
घटना मंगलबार जनकपुरधाम वडा नं। ४ स्थित स्वर्गद्वारी नजिकको गुठी संस्थानसँग सम्झौता गरी लिएको जग्गामा भएको हो । महासंघ मधेश प्रदेश समितिले कार्यालय भवन निर्माणका लागि कानुनी प्रक्रिया पुरा गरेर लिएको उक्त जग्गामा घेराबार गर्दै गर्दा धनुषा जिल्ला बार अध्यक्ष विमल मिश्रको नेतृत्वमा आएको समूहले अवरोध गर्दै हुलदङ्गा मच्चाएको महासंघले आरोप लगाएको छ ।
सो क्रममा महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र क्रान्ति, पत्रकार दिवाकर राय, अनिल निराला र विनिता यादवमाथि शारीरिक आक्रमण भएको महासंघले जनाएको छ । जसमा क्रान्तिको खुट्टा भाँचिएको, निरालाको आँखामा चोट पुगेको र रायको टाउकोमा गम्भीर घाउ लागेको उल्लेख छ । उपाध्यक्ष झा र पत्रकार यादवमाथि समेत लैङ्गिक संवेदनशीलता विपरीत दुव्र्यवहार भएको आरोप लगाइएको छ ।
महासंघले यसलाई प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा र कानुनी शासनको गम्भीर उल्लङ्घनका रूपमा लिएको छ । मिसन टोलीले घटनाको कारण, दोषीको पहिचान, कानुनी प्रक्रिया र आवश्यक सिफारिससहितको प्रतिवेदन बुझाउनेछ ।
यसअघि राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालय, मिडिया काउन्सिल मधेश प्रदेश, आम सञ्चार प्राधिकरण र अन्य सञ्चार अधिकार संगठनका प्रतिनिधिहरूले पनि पीडित पत्रकार, घाइते तथा प्रत्यक्षदर्शीसँग भेटघाट गरी आवश्यक जानकारी लिएका छन् ।