सर्लाही, ३० साउन । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच एकताउन्मुख कार्यगत एकता घोषणा भएको छ । विहिबार काठमाडौंमा एक कार्यक्रम गरेर कार्यगत एकताको घोषणा गरेका हुन् । एकताको लक्ष्य राखेर तत्काललाई कार्यगत एकता गरेको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए । कार्यगत एकताको सहमति पत्रमा जसपा अध्यक्ष राई र रामुपाका अध्यक्ष महतोले हस्ताक्षर गरेका छन् । राई उपेन्द्र नेतृत्वको जसपा नेपालबाट अलग भएका हुन् भने महतो महन्थ ठाकुर नेतृत्वको लोसपाबाट अलग भएका हुन् ।
राजेन्द्र महतोको आरोप : देउवा, ओली र प्रचण्ड सबैमा एकल नश्लीय शासन प्रवृत्ति हावी भयो
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मुलुकमा लोकतान्त्रिक व्यवस्था सबै नागरिकको अधिकार सुनिश्चित गर्ने दिशामा अघि नबढेको आरोप लगाएका छन् ।
बिहीबार जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा कार्यक्रममा बोल्दै उनले हालको शासन व्यवस्थामा ‘एकल नश्लीय शासन प्रवृत्ति’ हाबी भएको दाबी गरे । महतोका अनुसार लोकतन्त्र स्थापना भएको ३५ वर्ष बितिसक्दा पनि जनताले आफ्नो हक अधिकार पूर्ण रूपमा पाउन सकेका छैनन् । उनले देशका तीन प्रमुख नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबैमा एउटै प्रकारको वर्चस्ववादी प्रवृत्ति देखिएको आरोप लगाए ।
“नेपालमा उत्पीडन कुनै नयाँ कुरा होइन, यो ऐतिहासिक रूपमा जरा गाडेको समस्या हो। मुलुकको निर्माण जसरी भयो, शासन पनि त्यही आधारमा हुनुपर्ने थियो। तर त्यस्तो नगरेका कारण आजको अवस्था सिर्जना भएको हो,” महतोले भने ।
उनले थपे, “ओली, देउवा र प्रचण्डको राजनीतिक शैली एउटै प्रवृत्तिको हो, एकल नश्लीय शासन। देश विविधतायुक्त छ, तर शासन चाहिँ एकल बनाइन्छ। सात पटक संविधान बने पनि जनताको हितमा एउटै संविधान बन्न सकेन ।”