बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रा फेरि एक पटक समस्यामा परेका छन् । शिल्पा र राज कुन्द्रामाथि ६० करोड रुपैयाँ ठगीको आरोप लागेको छ । अभिनेत्री र उनका पतिविरुद्ध जुहू प्रहरी स्टेसनमा ठगी र जालसाजीको धारा अन्तर्गत मुद्दा दर्ता गरिएको समाचारमा उल्लेख छ । यद्यपि, यसमा संलग्न रकम १० करोड रुपैयाँभन्दा बढी भएकोले मुद्दा आर्थिक अपराध विभागमा हस्तान्तरण गरिएको छ । दीपक कोठारीले दर्ता गरेको भनिएको उजुरीको प्रारम्भिक अनुसन्धानपछि यो सम्पूर्ण मुद्दा दर्ता भएको हो । दीपक कोठारी जुहूका निवासी र लोटस क्यापिटल फाइनान्सियल सर्भिसेज नाम गरेको इयटा एनबीएफसीका निर्देशक हुन् । यस सम्बन्धमा मुम्बईस्थित आर्थिक अपराध शाखाले शिल्पा र राजविरुद्ध ६० करोड ४० लाख भारु ठगी गरेको आरोपमा मुद्दा दर्ता गरेका छन् । उनीहरूमाथि मुम्बईका एक व्यापारीलाई ठगी गरेको आरोप छ । दीपक कोठारीका अनुसार, उनले २०१५ मा एजेन्ट राजेश आर्य मार्फत शिल्पा र कुन्द्रालाई भेटेका थिए । त्यतिबेला दुवै जना बेस्ट डिल टिभीका निर्देशक थिए र शिल्पासँग कम्पनीको ८७ प्रतिशत भन्दा बढी शेयर थियो । बैठकमा दीपकले शिल्पा र राज कुन्द्राको कम्पनीलाई ऋण दिने तय भयो । कम्पनीको लागि ७५ करोड रुपैयाँ ऋण मागिएको थियो, जसमा १२ प्रतिशत वार्षिक ब्याज तोकिएको थियो । पछि शिल्पा र कुन्द्राले उनलाई ऋणमा कर सम्बन्धी समस्या हुन सक्छ भनेर बताएकाले उनीहरूले यसलाई लगानीको रूपमा देखाउनुपर्छ र हरेक महिना प्रतिफल दिने बताएको दीपक कोठारीको आरोप छ । कोठारीले अप्रिल २०१५ मा लगभग ३१ करोड ९५ लाख भारुको पहिलो भुक्तानी गरेका थिए । कर सम्बन्धी समस्या जारी रहँदा, सेप्टेम्बरमा दोस्रो सम्झौता गरिएको थियो । यस्तै जुलाई २०१५ र मार्च २०१६ को बिचमा, उनले अरू २८ करोड ५४ लाख भारु पनि दिए । कुल मिलाएर उनले ६० कोड ४८ लाख भारु र ३ लाख १९ हजार भारु स्ट्याम्प शुल्क तिरेका छन् । शिल्पाले अप्रिल २०१६ मा उनलाई व्यक्तिगत ग्यारेन्टी पनि दिएकी कोठारीको दाबी छ । तर सोही वर्षको सेप्टेम्बरमा उनले कम्पनीको निर्देशक पदबाट राजीनामा दिइन् । उनले धेरै पटक आफ्नो पैसा फिर्ता मागे, तर कुनै जवाफ पाएनन् । न त पैसा फिर्ता पाए । सुरुमा जुहू प्रहरी चौकीमा ठगी र जालसाजी अन्तर्गत मुद्दा दर्ता गरिएको थियो । रकम १० करोडभन्दा बढी भएकोले, अनुसन्धान आर्थिक अपराध शाखा (ईओडब्ल्यू)लाई हस्तान्तरण गरिएको छ । ईओडब्ल्यूले यो मुद्दाको अनुसन्धान गरिरहेको छ । तर राज र शिल्पाका वकिलले दीपक कोठारीको आरोप अस्वीकार गरेका छन् । ‘मेरा क्लाइन्टहरूले केही इलेक्ट्रोनिक र छापा मिडिया मार्फत थाहा पाएका छन कि उनीहरू विरुद्ध मुम्बईको आर्थिक अपराध शाखामा मुद्दा दर्ता गरिएको छ । सबैभन्दा पहिले, मेरा क्लाइन्टहरूले सबै आरोपहरू अस्वीकार गरेका छन् । यो एक विशुद्ध नागरिक मामिला हो, जुन राष्ट्रिय कम्पनी कानून न्यायाधिकरण मुम्बईले ४ अक्टोबर २०२४ मा समाधान गरेको थियो,’ दैनिक भास्करसँग कुरा गर्दै राज कुन्द्रा र शिल्पा शेट्टीका वकिल अधिवक्ता प्रशान्त पाटिलले भनेका छन् । यो पुरानो लेनदेन भएको अनि यसमा कुनै अपराध नभएको पनि पाटिलले बताए । लगानी सम्झौता विशुद्ध रूपमा इक्विटी लगानीको रूपमा भएको पनि उनले बताए । कम्पनीले पहिले नै लिक्विडेशन आदेश प्राप्त गरिसकेको पनि उनले उल्लेख गरेका छन् ।