सर्लाही, ३० साउन । काठमाडौँ रानीवन बस्ने वेदकुमार राई बिहीबार दिउँसो हस्याङफस्याङ गर्दै टेकपानाको कार्यालय आइपुगे । आफूले नागरिक एपमा समस्या खेपिरहेको भन्दै उनी सञ्चारमाध्यमको कार्यालय आइपुगे । नागरिक एपको समस्या लिएर उनी किन एउटा सञ्चारमाध्यमको कार्यालयमा आइपुगे त ? उनले भने – “मैले पुरानो मोबाइल सेटमा नागरिक एप चलाउँथे । त्यसमा मैले सवारी चालक अनुमतिपत्रमार्फत आफ्नो नागरिक एपको अकाउन्ट भेरिफाई गरेको थिएँ । तर, अहिले नयाँ सेटमा सवारी चालक अनुमतिपत्रबाट भेरिफाई हुन मानिरहेको छैन । मैले नागरिक एपका सम्पर्क नम्बरमा धेरै पटक फोन गरेँ । तर, लागेन । मैले नागरिक एपसम्बन्धी टेकपानाको भिडिओ देखेको थिएँ, अनि यहाँबाट पनि मिल्छ कि भनेर आएको हुँ ।” त्यसपछि यो विषयमा सोधीखोजी गर्दा पत्ता लाग्यो नागरिक एपको भेन्डर त काम छोडेर हिँडिसकेको रहेछ । सरकारले नागरिक एप सञ्चालनसम्बन्धी सम्झौता नवीकरण नगर्दा भेन्डर बिहीबारदेखि काम छोडेर हिँडेको हो । असारसम्म मात्रै सम्झौता अवधि रहे पनि भेन्डर कम्पनीले थप एक महिना (बुधबारसम्म) सेवा दिइरहेकै थियो । तर, काम गरेको अवधिको पारिश्रमिकका साथै सम्झौताको भविष्य अन्योलमा परेको भन्दै भेन्डर कम्पनी सर्भिस टुवार्ड टेक्नोलोजी नेपालका कर्मचारी बिहीबारदेखि काम गर्न आउनै छोडेका हुन् । नागरिक एपको डेभलपमेन्ट, सपोर्ट एण्ड मेन्टिनेन्स, अपरेसनलगायतका अधिकांश काम आउटसोर्सिङमार्फत सोही कम्पनीले गर्दै आएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको सूचना प्रविधि विभागले सर्भिस टुवार्ड टेक्नोलोजी नेपालसँग गरेको सम्झौता नवीकरण नगर्दा कम्पनी काम छोडेर हिँडेको बुझिएको छ । यसअघिको सम्झौता अवधि सकिएपछि नवीकरण नगरेको विभागले नयाँ कम्पनी छनोटको प्रक्रिया पनि अघि बढाएको छैन । सम्झौता नवीकरण नभएपछि उधारोमा काम गर्न नसकिने भन्दै कल सेन्टरदेखि फोटो प्रमाणीकरणलगायतका म्यानुअल काम बिहीबारदेखि सबै रोकिएका छन् । कम्पनीका १६ जना कर्मचारी बिहीबारदेखि सिंहदरबार स्थित नागरिक एपको कार्यालयमा आउन छोडेका छन् । कार्यालय समयमा नागरिक एपको कार्यालयमा ताल्चा लागिरहेको पाइएपछि हामीले सूचना प्रविधि विभागका महानिर्देशकसँग बुझ्ने प्रयास गर्यौँ । आफूले यस विषयमा बुझेर बताउने भन्दै उनले फोन राखेको केही समयपछि विभागबाट दुई जना कर्मचारी नागरिक एपको कार्यालय खोल्न पुगेका थिए । “सम्झौता नवीकरण नभएपछि करिब १६ जना कर्मचारी काम गर्न आउनै छोडेका छन् । जसका कारण म्यानुअल्ली हुने सबै कामहरू रोकिएका छन् । जस्तै कल सेन्टरको फोन उठ्न छोडेको छ, नागरिक एपमा अपलोड गरिने फोटोको प्रमाणीकरण रोकिएको छ । कर्मचारी नहुने हो भने अरू काम पनि रोकिने अवस्था छ । यसले एप नै निष्क्रिय बन्न सक्छ,” स्रोतले टेकपानासँग भन्यो । कर्मचारी काममै नआएपछि नागरिक एपको कल सेन्टरसम्बन्धी सेवा ठप्प छ । प्रयोगकर्ताले नागरिक एप चलाउँदा आइपर्ने समस्यासहितका अन्य जिज्ञासा, सहयोगका लागि ती नम्बरहरूमा फोन गर्छन् तर, फोन लागिरहेको छैन । नागरिक एपको टोल फ्री नम्बर ११०१ मा फोन गर्दा उठ्दैन । फोन गरेपछि बज्ने जेनेरेटेड सन्देशपछि फोन आफै काटिन्छ । यही समस्या टोल फ्री नम्बरमा मात्रै नभएर नागरिक एपको कल सेन्टरको ल्यान्डलाइन नम्बर ०१-५९७००४६ मा पनि छ । सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले पछिल्लो कुराकानीमा ठेक्का पाएको कम्पनीका कर्मचारी आज काममा नआएको स्वीकार गरे । भेन्डर कम्पनीका कर्मचारी काममा नआएपछि आफूहरूले छलफलपछि विभागका कर्मचारीलाई नै नागरिक एपका काम अघि बढाउन खटाएको जानकारी उनले दिए । “आज वहाँहरू काममा आउनु भएको छैन । त्यो थाहा पाउने बित्तिकै हामीले विभागबाट जनशक्ति खटाइसकेका छौँ । काम रोकिन दिँदैनौँ,” पौड्यालले भने । अहिले काम गरिरहेको कम्पनीसँगको सम्झौता नवीकरण गर्ने वा नयाँ टेन्डर निकाल्ने विषयमा सरकारी प्रक्रिया केही ढिलाई भएकाले समस्या आएपनि विभागले त्यसको असर पर्न नदिन व्यवस्थापन गरिसकेको दाबी पौड्यालले गरे । विभाग नयाँ टेन्डर निकाल्ने अवधिसम्मलाई अहिलेकै कम्पनीसँगको सम्झौता नवीकरण गर्ने मनस्थितिमा पुगेको बुझिएको छ । “नयाँ टेन्डर निकाल्न २-३ महिना लाग्छ । सबै प्रक्रिया पुर्याउँदा समय त लागिहाल्छ । त्यतिन्जेल अहिलेकै कम्पनीको सम्झौता नवीकरण गर्ने हो कि भन्ने विषयमा छलफल भइरहेको छ । छिट्टै टुङ्गोमा पुग्छौँ । नागरिक एपको सेवामा समस्या आउन दिँदैनौँ,” पौड्यालले भने ।