सर्लाही, ३० साउन ।  सर्लाही जिल्लाको चक्रघट्टा गाउँपालिका–५, पडरिया स्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

चक्रघट्टाबाट पडरिया तर्फ जाँदै गरेको BR 30A G5036 नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेका पैदल यात्रीलाई ठक्कर दिँदा अन्दाजी ६० वर्षीय बरन बैठा गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो, जहाँ डाक्टरले मृत घोषणा गरेका हुन्। मृतक बैठा सोही गाउँपालिका–५, पडरियाका स्थानीय बासिन्दा हुन् ।

उक्त घटनामा घाइते भएका २० वर्षीय दिपक मण्डल र मोटरसाइकल चालक हरेकृष्ण यादवको समेत टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको छ । उनीहरूलाई मलंगवा स्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने मोटरसाइकललाई इलाका प्रहरी कार्यालय चक्रघट्टाले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *