सुपरस्टार रजनीकान्तले ७४ वर्षको उमेरमा पनि आफ्नो स्टारडम कायमै रहेको प्रमाणित गरेका छन् । उनको पछिल्लो फिल्म ‘कुली’ले बक्स अफिसमा तहल्का मच्चाउँदै प्रदर्शनको दुई दिनमै विश्वभरबाट २५० करोड भारतीय रुपैयाँभन्दा बढीको कमाइ गरेको छ । यो आँकडा पार गर्ने ‘कुली’ यस वर्षको पहिलो तमिल फिल्म बनेको छ ।  स्वतन्त्रता दिवसको बिदाको फाइदा उठाउँदै फिल्मले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन जारी राख्यो । लोकेश कनगराजद्वारा निर्देशित यस फिल्मले रजनीकान्तको करिअरकै सबैभन्दा ठुलो हिट बन्न सक्ने संकेत देखाएको छ । 

‘कुली’को विश्वव्यापी बक्स अफिस रिपोर्ट

सामान्यतया दक्षिण भारतीय सुपरस्टारका फिल्महरूले पहिलो दिन बम्पर ओपनिङ गरे पनि दोस्रो दिन कमाइमा ठुलो गिरावट देखिने गर्छ । तर स्वतन्त्रता दिवसको बिदा र दर्शकबाट पाएको उत्कृष्ट प्रतिक्रियाका कारण ‘कुली’को कमाइमा दोस्रो दिन केवल १७५ को सामान्य गिरावट आयो । 

फिल्मले पहिलो दुई दिनमा भारतभित्रै ११८ दशमलव ५० करोड भारु नेट (१४५ करोड ग्रस) कमाइ गरेको छ । विदेशमा पनि फिल्मले ऐतिहासिक सफलता हासिल गरेको छ । फिल्मले पहिलो दिन विदेशबाट ८ दशमलव ७५ मिलियन डलर कमाएको थियो, जुन कुनै पनि तमिल फिल्मको लागि अहिलेसम्मकै सबैभन्दा ठुलो ओपनिङ हो । दोस्रो दिन विदेशमा बिदा नभएकाले कमाइ केही घटे पनि दुई दिनको कुल विदेशी कमाइ १३ मिलियन डलर (लगभग ११० करोड भारु) नाघेको फिल्म व्यापार विश्लेषकहरूको अनुमान छ । यससँगै फिल्मको कुल विश्वव्यापी कमाइ दुई दिनमै २५० करोड भारु नाघेको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *