सर्लाही, ३१ साउन । ३५ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाले २७ हजार ३ सय ३० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याएको छ । पूर्वी मूल नहर ३४ दशमलव ५ किमी र पश्चिमी मूल नहर ३१ दशमलव ६ किमी सम्पन्न भएको छ । यसैगरी शाखा, प्रशाखा नहर ३ सय २१ दशमलव ५ किमी सम्पन्न भएको आयोजनाले जनाएको छ । गत आवमा जग्गा ३ सय ८६ दशमलव ७९ अधिग्रहण भएको छ । हेड बक्स र साइफन निर्माण १/१ वटा सम्पन्न भई सकेको छ ।

०८१/०८२ वार्षिक प्रगति २ अर्ब ३७ करोड २६ लाख ३७ हजारमध्ये भौतिक प्रगति ९९ दशमलव ८४ प्रतिशत भएको छ । वित्तीय प्रगति ९९ दशमलव ७० प्रतिशत रहेको छ । आयोजनाको सुरु अवधिदेखि १८ अर्ब ९६ करोड ३० लाख ४४ हजार र कूल खर्च १५ अर्ब ४७ करोड ८१ हजार खर्च भएको छ ।

भौतिक प्रगति ८२ दशमलव २७ र वित्तीय प्रगति ८१ दशमलव ५८ प्रतिशत भएको आयोजना प्रमुख शुशिल देवकोटाले जनाए । बबई सिँचाइ आयोजना समयभित्र सम्पन्न गर्न तीव्र गतिमा काम सुरु भएको छ । राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना अन्तर्गत पश्चिम मूल नहरको कामले गति लिएपछि समयमै सम्पन्न हुने संभावना बढेको आयोजनाका प्राविधिक बताउँछन् ।

पूर्वतर्फको २१ हजार हेक्टर र पुर्व तर्फ १५ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउन योजनाको लक्ष्य रहेको आयोजनाले जनाएको छ । गुलरिया नगरपालिकाको ९ हजार हेक्टरमा सिँचाइ पुर्‍याउने उद्देश्यले नहर निर्माणको काम तीव्र गतिमा भइरहेको आयोजना प्रमुख देवकोटाले भने,‘मुआब्जा दिएर जग्गा अधिग्रहण भइसकेको र विवाद नभएकोले नहर निर्माण तीव्र गतिमा हुने छ । गुलरियामा नहर निर्माण सकिएपछि आयोजनाको काम सकिने छ ।’ ०७१ सालमा आएको भिषण बाढीले भौतिक संरचना बगाएको, लगत्तै भूकम्प र कोभिडका कारण काममा ढिलासुस्ती हुँदा कामले गति लिन सकेको थिएन । अहिले नहर निर्माणका कामलाई समय भित्र सम्पन्न गर्नेगरी अघि बढाइएको आयोजनाले जनाएको छ । ०७५ सालसम्म नहरको काम सम्पन्न गर्ने लक्ष्य लिएको थियो ।

नाकाबन्दी, महामारी, बाढी र मुआब्जाको समस्याले म्याद थप भई आव ०८२/०८३ सम्म काम सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजना प्रमुख देवकोटाले अन्य कुनै कारण नभए समयभित्र काम सम्पन्न गरी ३६ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने बताए । नहर निर्माण हुँदा खुशी लागेको गुलरिया–३ का किसान निरंकार यादवले बताए । ‘बबई नदीमा बारै महिना नहरमा पानी हुँदैन,’ उनले भने, ‘सरकारले भेरी, बबई डाइभर्सन छिटो निर्माण गर्नुपर्ने हुन्छ ।’ पर्याप्त सिँचाइका लागि ६० घन मिटर पानीको आवश्यकता रहेको आयोजनाले जनाएको छ । बबई खहरे खोला भएका कारण वर्षातमा पर्याप्त पानी हुन्छ । भेरी बबई डाईभर्सन निर्माण सम्पन्न भएपछि १२ महिना पर्याप्त सिँचाइ हुने छ ।

धान, गहुँ र तोरी उत्पादनका लागि निकै उब्जनी हुने यस भेगमा पर्याप्त पानी नहुँदा किसान आकाशे र पम्पसेटको भरमा खेती गर्न बाध्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *