सर्लाही, ३१ साउन । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले विदेशी सामाजिक सञ्जाल र मिडिया कम्पनीले नेपालको सार्वभौमसत्तालाई स्वीकार नगरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
काठमाडौंमा भएको डिजिटल नेपाल कन्क्लेभमा मन्त्री गुरूङले विदेशी सामाजिक सञ्जाललाई दर्ता हुन सरकारले पटकपटक आह्वान गरेको तर उनीहरूले हाम्रो नीति नियम मान्न इन्कार गरेको भन्दै आपत्ति जनाउनुभएको हो ।
हालसम्म टिकटक, भाइबर र विटक गरी तीन वटा मात्र सामाजिक सञ्जाल नेपालमा दर्ता भएका छन् । नेपालमा धेरैले चलाउने फेसबुकको कम्पनी मेटालाई दर्ता हुन सरकारले आग्रह गर्दै आएको छ ।
मन्त्री गुरूङले आगामी माघ २ गते काठमाडौं र पोखरामा फाइभ-जी सेवा सुरू गर्ने लक्ष्य लिएको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले गरेको कार्यसम्पादन सम्झौतामा फाइभ-जी सेवा सुरू गर्ने मिति नै उल्लेख भएको उहाँको भनाइ थियो ।
मन्त्री गुरूङले नेपालमा डाटा सेन्टर बनाउने तयारी भइरहेको समेत बताउनुभयो । प्रधानमन्त्री ओलीले आफूलाई डाटा सेन्टर बनाउन ठाउँ खोजेर डीपीआर तयार गर्न निर्देशन दिइसकेको भन्दै उहाँले अहिले आफू त्यसमा लागिरहेको बताउनुभयो । एआई रिसर्च सेन्टर बनाउने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो।
मन्त्री गुरुङले यो वर्ष नेपालको कुल गार्हस्थ उत्पादनमा डिजिटल उद्योगको योगदान २ प्रतिशत पुर्याउने सरकारको लक्ष्य रहेको बताउनुभयो ।