सर्लाही, ३१ साउन । सर्लाही जिल्लामा अपराध नियन्त्रणको जिम्मेवारी पाएको प्रहरी प्रशासन नै सीमामा अवैध असुलीमा व्यस्त हुँदा सर्वसाधारणको सुरक्षा संकटमा परेको देखिएको छ । गए राती हरिपूर्वा नगरपालिका–६ का ४० वर्षीय रामपुकार यादवको आफ्नै घरअगाडि गोली हानी हत्या गरिएको छ ।
गएराति करिब ८ बजेको समयमा यादव छरछिमेकसँग गफ गर्दै बसिरहेको अवस्थामा मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनलाई लक्षित गरी गोली प्रहार गरेका थिए । टाउकोमा गोली प्रहार हुँदा गम्भीर घाइते हुनुभएका यादवलाई उपचारका लागि महोत्तरीको पर्सास्थित एक स्वास्थ्य संस्थामा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको थिए । गोली प्रहार गरेर फरार भएका व्यक्ति सवार मोटरसाइकल गएराति नै हरिपूर्वा नगरपालिका–७ मा दुर्घटनामा परेको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका र उनलाई लालबन्दीमा उपचार गरी थप उपचारका लागि जनकपुर लगिएको हाे ।
प्रहरी सीमामा पैसा उठाउनमै व्यस्त छन्, अपराध नियन्त्रणमा होइन ।
दिनप्रतिदिन बढ्दै गएको अपराध र प्रहरीले लिएको उदासीनताले आम नागरिक त्रसित छन् । यो घटना सर्लाहीमा पछिल्लो समय बढ्दो अपराध श्रृंखलाको अर्को दुःखद उदाहरण हो । यसअघि पनि यस्ता हत्या, गोलीकाण्ड र अपराधिक घटनाहरू बारम्बार भइरहेकाले सर्वसाधारण त्रसित छन् । स्थानीयवासीहरूका अनुसार प्रहरी प्रशासन जनसुरक्षा भन्दा सीमामा हुने अवैध असुलीमा बढी केन्द्रित देखिन्छ ।
“यस्ता घटनाहरु पटक–पटक हुँदा पनि प्रहरी प्रशासनहरू गम्भीर देखिँदैनन् । सीमाबाट भित्रिने सामानको नाममा पैसा उठाउनमै उनीहरू व्यस्त छन्,” एक स्थानीय बासिन्दाले नाम नखुलाउने सर्तमा बताए ।
प्रहरीको निष्क्रियता र उदासीनताले गर्दा अपराधीहरूलाई प्रोत्साहन मिलेको स्थानीयहरूको आरोप छ। सर्लाहीजस्ता सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षाको स्थिति दिनप्रतिदिन खस्किंदै जानु गम्भीर चिन्ताको विषय बनेको छ ।
संबन्धित निकायले यस्ता घटनाको गम्भीरता बुझी प्रभावकारी अनुसन्धान र कारबाही नगरेसम्म सर्लाहीमा शान्ति सुरक्षाको प्रत्याभूति कठिन देखिन्छ ।